अपहरणमुक्त गराउने युवाहरु सम्मानित

Thursday, September 2, 2010

काभ्रे, १७ भदौ
मंगलबार बिहान अपहरणमा परेका बनेपाको ज्ञानकुञ्ज उच्च माविका छात्र रोमन बिष्टलाई सकुशल अपहरणमुक्त गराउने भक्तपुर, ताथली–४ गोठालेचौरका युवाहरुलाई विहिबार ज्ञानकुञ्ज स्कूलले विद्यालयमा सम्मान गरेको छ । विद्यालयको कक्षा ९ मा अध्ययनरत विष्टलाई स्कूल जाँदै गर्दा एक समूहले मङ्गलबार बिहान बनेपाको नयाँबस्तीबाट अपहरण गरेको थियो । विष्टलाई अपहरण गरी नालाबाट भक्तपुरतर्फ लैजाने क्रममा ताथलीका युवाहरुले गोठालेचौरबाट मुक्त गरेका थिए । विष्टलाई राजकुमार बस्नेत, ईश्वर थापा, शंकर बस्नेत, दिपक बस्नेत लगायतका स्थानीय युवाहरुले विष्टलाई अपहरणमुक्त बनाएका हुन् ।
विष्टको अपहरणमा संलग्न व्यक्तिहरुलाई समाउने र विष्टलाई सकुशलमुक्त गराउने युवाहरुलाई विहिबार टिका, दोसल्ला र खादाले पनि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आत्माराम थापा, सल्लाहाकार योगेन्द्रनाथ कर्माचार्य, सुरकृष्ण बैद्य र सानुभाई विष्टले सम्मान गरेका थिए । विष्टलाई ट्याक्सीमा हालेर अपहरण गरेको देखेर तत्कालै विद्यालयमा खबर गर्ने कक्षा ९ मा अध्ययनरत विद्यार्थी बिजेन्द्र केसीलाई समेत सम्मान गरिएको छ । विष्टलार्ई बा १ ज ५०७१ नम्बरको ट्याक्सीमा राखी अपहरण गरिएको थियो ।
अपहरणमा संलग्न रहेका मुख्य योजनाकार ओखलढुङ्गा तिलन्दु गाविस–९ स्थायी घर भएका वर्ष २७ का कुमार कार्की, मकवानपुर बज्रबाराही गाविस–७ का वर्ष २३ का ट्याक्सी चालक सुरेश बलामी, संखुवासभा खाँदबारी नपा–११ का वर्ष २५ का अनिष राई भनिने लोकेन्द्र राई र इलामको चुलाचुली गाविस–७ का वर्ष ३४ का राजु सुब्बालाई भक्तपुर प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय काभ्रेलाई बुझाएको छ । यसैगरी, अपहरणमा संलग्न मकवानपुर जिल्ला हेटौँडा नपा–४ का मनिष भनिने कृष्णबहादुर थिङलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले मंगलबार राती नै पक्राउ गरेको छ । पक्राउ सबै जनालाई मानव अपहरण तथा तथ शरीर बन्धकको कसूरमा मुद्दा चलाइएको काभ्रे प्रहरीले जानकारी दिएको छ । विष्टको अपहरणमा संलग्न रहेका रामेछापका ३५ वर्षिय आले तामाङ फरार रहेको र उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
सम्मानपछि प्रतिक्रिया दिँदै ताथलीका युवा ईश्वर थापाले आफ्नो गाउँ, टोल, छरछिमेकमा आइपरेका घटनामा टुलुटुली हेरेर बस्न नहुने बताउँदै थापाले यस्ता घटना हुन नदिन सबै एकजुट हुनुपर्ने बताए ।  - mechikali.com

0 comments:

Post a Comment

powered by Blogger | WordPress by Newwpthemes | Converted by BloggerTheme