हिमानीको दोलखा भ्रमणको भित्री कुरो

Friday, September 3, 2010

विशाल खड्का
 राजाको सक्रिय शासन व्यवस्था-पञ्चायतकालमा दोलखाका उप्रेती र खड्काहरु जिल्लाका मुख्य प्रतिनिधिहरु मानिन्थे। ती खड्काहरुको बसोबास भएको उत्तरी गाविस लादुक र उप्रेतीहरुको बसोबास भएको नाम्दु गाविस राजावादीहरुको आधारक्षेत्रजस्तै भएर अस्तित्वमा रहे। दोलखा जिल्लाको क्षेत्र नं १ मा पर्ने नाम्दुलाई केन्द्र बनाएर उप्रेतिले राज गरे भने क्षैत्र नं २ मा पर्ने लादुकलाई आधार बनाएर राजाको काज चलाए। वास्तवमा तिनै उप्रेति र खड्काहरुको अत्याचार र निरंकुशताको विरोध गर्दागर्दै अधिकांश दोलखालीहरु वामपन्थी बने भने दोलखा जिल्ला वामपन्थीहरुको भरपर्दो आधार क्षेत्र बन्यो। बहुदल स्थापनापछि सम्पन्न निर्वाचनहरुमा एमालेलाई मत जाहेर गर्दै आएको दोलखालीले पछिल्लो संविधानसभा निर्वाचनमा माओवादी पार्टीलाई दुवै क्षेत्रबाट अत्यधिक मतले विजयी गराएका हुन्।
देशमा सञ्चालित जनयुद्ध अवधिमा जनयुद्ध र त्यसका सञ्चालकहरुलाई अत्यधिक सहभागिता र माया गरे दोलखालीले। त्यो भनेको राजतन्त्रप्रतिको आक्रोशको स्वाभाविक रुप थियो। देशमा २०६२/६३ को ऐतिहासिक जनआन्दोलनपछि शान्तिकालको बिहानीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोलखाको जिरी घुम्न आउँदा सबैभन्दा बढी खुसी र स्वागत नाम्दुवासी जनताले नै प्रकट गरेका थिए। त्यसो हुनु भनेको राजा र उनका स्थानीय गोठाला उप्रेतीहरुको शासन उखेल्ने साहसिक क्रान्ति नायकको रुपमा सम्मान गर्दै उप्रेतीसँगको आक्रोश प्रचण्डप्रति प्रेमको रुपमा प्रकट गरेका थिए।

आज संविधानसभा निर्वाचनपछि राजतन्त्र अन्त्य भएको तर जनताको संघीय गणतन्त्र संस्थागत भइनसकेको संक्रमणकालीन अवस्थामा प्रतिक्रियावादी चलखेल तीव्र भएको छ। भारतीय हस्तक्षेप सँगसँगै बनवासका राजाहरुको ताण्डव नृत्य पनि सुरु भएको छ। मसानघाटमा पुगिसकेको भनिएको राजतन्त्रको भूत गाउँगाउँमा निस्किँदा नेपाली जनता आतंकित हुनु स्वाभाविक छ। यही भदौ १४/१५ गते पूर्व युवराज्ञी हिमानी शाहको दोलखा भ्रमण राजतन्त्र बिउँताउने प्रारम्भिक कोसिसको रुपमा हामी सबैले देख्न र बुझ्न पायौँ। हिमानीले दोलखाका दुई स्थान छनोट गरिन्। पहिलो, भीमसेनस्थानको मूर्तिमा पसिना आउँदा दरबारमा संकट हुन्छ भन्ने आमचर्चा र विश्वास बोकेको ऐतिहासिक भीमेश्वर मन्दिरमा पूजा गरेर आफ्नो पुनर्बासको भाकल गरिन् भने आफ्नो इतिहासको आधारक्षेत्र नाम्दुमा खानेपानी ट्यांकी र पाइप बाँडेर पुनर्काजको याचना गरिन्। उनको दोलखा भ्रमण सक्रिय राजतन्त्रको पुनर्राज गराउने प्रयत्न हो भन्ने स्वतः पुष्टि भएको छ।

राजपरिवारको जिल्ला दोडाहा यो नै पहिलो र नौलो भने होइन। परन्तु उनको भ्रमण प्रकृति र चरित्र भने फरक छ। हिमानी दोलखा आइन् रे भन्दा एउटा नागरिकको आगमन भनेर बुझ्ने नै बढी थिए। उनको आगमनको बढी चर्चा गर्दा स्वयम्को मूल्य बढी होला कि भन्ने बुझाइ थियो। विषय त्यतिखेर जटिल बन्यो, उनी आउने अघिल्लो राति नेपाली सेना र दरबारको केही कर्मचारीहरुको सक्रियतामा खाने पानीको पाइप र ट्यांकी ल्याइएकोे हल्ला चल्यो। दोलखामा कार्यरत मुख्य तीन पार्टीहरु माओवादी, एमाले र काग्रेसका जिल्ला नेतृत्वबीच छलफल भयो। उनी दोलखामा आएको दिन भदौ १४ गते चरिकोटमा आयोजित एक खुला कार्यक्रममा आमसञ्चारकर्मी, नागरिक समाज र अन्य अधिकारकर्मीहरुको रोहवरमा युवराज्ञीले बहालवाला नागरिकको रुपमा भीमेश्वरको दर्शन गर्नु स्वाभाविक भए पनि गाउँगाउँ गएर विकास बाँड्ने कार्य प्रतिगामी हस्तक्षेप हो। सक्रिय राजतन्त्र बिउँताउने षड्यन्त्र हो भनी त्यसलाई रोक्न स्थानीय प्रशासनलाई सचेत गराउने कार्य भयो। स्थानीय प्रशासनले बिन्ती गरेको जानकारी गरायो तर दरबारी टोलीले गन्तव्य बदलेन। अपितु ठूला पार्टीका उच्च नेताहरुसँग छलफल भइसक्यो, तिमीहरुले किन नमान्ने भनी प्रशासन अधिकारीलाई धम्की दिने काम भयो। त्यसको जानकारी सबै दलका नेताहरुलाई गराइयो।
भदौ १५ गते बिहान राष्ट्रिय स्तरका समाचारमाध्यमले हिमानीको भ्रमणसँग जोडेर माओवादी पार्टीको उछितो काढ्ने गरी भ्रामक समाचार छापेपछि दोलखा माओवादी पार्टी कार्यालयबाट उनीहरुलाई गाउँ नजान कडा चेतावनी जारी गरियो। स्थानीय प्रशासनले पनि अनुरोध दोहोर्‍यायो। परन्तु टेर्ने काम भएन। त्यसपछि गृह मन्त्रालयमा 'यो स्थिति हो भने हामी काम गर्न सक्दैनौँ तुरुन्तै भ्रमण रोक्नु पर्‍यो भनी अनुरोध गर्‍यो। जिल्ला प्रशासनको अनुरोधको आधारमा गृहसचिवले हिमानीको टोलीलाई खबर गर्दा जिल्लाका सिडियो डिएसपीले हिमानी भ्रमण दलका चुल्ठेमुन्द्रेहरुको धम्की खानु पर्‍यो। जिल्लाको सिडियोलाई अपरिचित एक महिलाले कार्यालय कम्पाउण्डमा नै गएर दिएको धम्की दोलखाली सचेत नागरिकका लागि चासोको विषय बनेको छ। यो सम्पूर्ण नेपाली नागरिक र राष्ट्र सेवक कर्मचारीका लागि गम्भीर चिन्ताको विषय हो।
त्यसपछि बाटोमा अवरोध छ जानु हुँदैन भन्दा सुरक्षाकर्मी भनिने हिमानीका सेवकहरुबाट अवरोध पन्छाउदै नाम्दु लैजाने काम भयो। त्यस क्रममा यस पंक्तिकारलाई मोबाइल नं ९८४१४१७९५८ बाट मसिनो स्वरमा धम्क्याउने शैलीले अवरोध नगर्न आदेश आयो। मैले ठाडो प्रतिकार गरेँ, म राजतन्त्रको पुनः अन्त्य र गणतन्त्र स्थापनाका लागि समर्पित योद्धा हुँ नधम्क्याउँदा हुन्छ भनेँ। त्यसपछि भेटेर छलफल गर्ने प्रस्तावमाथि र त्यस्तै खालको अन्य जनतालाई सुविधा पुग्ने सहयोग गर्छौँ भन्ने अनि ललीपप पनि † मैले ठाडै अस्वीकार गरे। यसरी जिल्लाका पार्टी प्रतिनिधिहरु र सुरक्षा अधिकारीहरुलाई धम्की दिएर आफूखुसी भाषण गर्दै हिँड्नु गणतन्त्रप्रतिको ठाडो बलात्कार होइन र † मात्र सचेत नागरिकले बुझ्नै पर्ने भएको छ।
दरबारिया प्रतिगामी शक्तिको यस खालको चलखेल कथित राष्ट्रवादी पदचापको रुपमा 'सामान्य नागरिक' को हैसियतले भइराखेको छ। उनीहरु सामान्य नागरिक हुन खोजेको भए स्थानीय प्रशासन र सर्वदलीय आग्रहको भावनामुताविक चल्थे होलान्। उनीहरुले सांस्कृतिक राजसंस्था खोजेको भए भीमेश्वरलाई दर्शन गरी अनाथ बालबालिकालाई प्रसाद दिएर फर्कन्थे होलान्। तर, आफ्नो इतिहासको किपटथलो खोज्दै त्यसको शिला पुज्न भौतारिनु भनेको सक्रिय राजतन्त्रको पुनर्बहाली गर्ने दुस्प्रयास हो। त्यहाँ विकासका नाममा कथित हिन्दू अधिराज्यको माग भएको र राजनीतिक दलहरुको भण्डाफोर गरिएको पर्चा बाँडिएको छ। कथित 'राष्ट्रिय सरोकार मञ्च नेपाल' नामक सस्थाको आयोजना र पहलमा केन्द्रदेखि अंञ्चल कमिटी जिल्ला कमिटी र जिल्ला-काठमाडौँ सम्पर्क कमिटीको समेत संगठनात्मक फर्मेसनमा राजावादीहरुको चलखेल भएको तथ्यको रहस्योद्घाटन भएको छ।
नेपाली जनताले आफ्नो भाग्य र भविष्य सुनिश्चित भएको स्थायी शान्ति र जनमुखी संविधान खोजी गरी राखेको बेला एकातिर बाह्य हस्तक्षेप तीव्र भइरहेको छ भने त्यसको विकल्पमा कथित राष्ट्रवादी नारा बोकेर आन्तरिक प्रतिगामी चलखेल उत्कर्षमा जाँदैछ। वास्तवमा भारतीय चलखेलको विरोध गरेजस्तो गरेर धमिलो पानीमा माछा मार्ने नियतले दरबारिया चलखेल बढेको छ। प्रतिगामीहरु आफैँभित्र दुई धुव बनाएर नेपालका राजनीतिक दलहरुलाई यो वा त्यो भनी रंग भर्न सक्रिय देखिन्छन्। नेपालका दल र तिनका ठूला नेताहरुलाई चेतना भया, भारत † वा दरबार † होइन नेपाली जनता तिम्रो ध्रुव हो। त्यसैमा हामीले विश्वास गर्नुपर्छ, नेपाली जनताले नै शान्ति र संविधानको ग्यारेन्टी गराउनेछन्।

लेखक एमाओवादी, दोलखाका सहसेक्रेटरी हुन्। 

REF. : NAGARIKNEWS.COM

0 comments:

Post a Comment

powered by Blogger | WordPress by Newwpthemes | Converted by BloggerTheme