५० करोडका दशैं सामग्री पहिरोमै

Friday, September 10, 2010

सडक विभागसँग व्यापारी आक्रोशित-
ध्रुव दङ्गाल, (बाह्रबीसे) सिन्धुपाल्चोक, भदौ २५-
सैंका लागि अर्डर गरिएका करोडौं रुपैयाँका सामग्री पहिरोमा रोकिएपछि तातोपानी नाकाका व्यापारी सडक विभागसँग आक्रोशित भएका छन्। पहिरो पन्छाएर सडक सुचारु गर्न ध्यान नदिँदा घाटा सहनुपर्ने बाध्यता सिर्जना भएको उनीहरुको गुनासो छ।

'सडक विभाग कानमा तेल हालेर बसेको छ', सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले आक्रोश पोख्दै भने- दसैंको व्यापार चौपट हुन लाग्यो। स्थलमार्गबाट नेपाल–चीन व्यापार हुने एकमात्र राजमार्गमा विभागले चाहिने जति ध्यान नदिएको उनले बताए।

पहिरोले राजमार्ग विभिन्न स्थानमा अवरुद्ध हुँदा भन्सार चेकजाँच भइसकेका करिव ३ सय मालबाहक कन्टेनर रोकिएका छन्। श्रेष्ठका अनुसार तयारी पोशाक, जुत्ता, चप्पल, खेलौना, सजावटका सामानलगायत् झण्डै ५० करोड रुपैयाँ मूल्यका सामग्री बाटोमा रोकिएका छन्। अरु सयौं कन्टेनर सामग्री लोड गर्न खासा जान सकेका छैनन्।  बीच बाटोमा थुनिएर बसेका छन्।

'खासाका गोदाममा दसैंका लागि पर्याप्त सामग्री आइसके पनि समयमै राजधानी लैजान पाइएको छैन'- उनले भने।

राजमार्गको बन्देउ–तातोपानी सडक खण्डको झण्डै ५० स्थानमा साना–ठूला पहिरो गएका छन्। ठूला पहिरो मात्र १० को हाराहारीमा छ। 'पहिरो पन्छाउने नाममा झारा मात्र टारिएको छ। संवेदनशीलरुपमा लिइएको छैन', नेपाल ट्रक कन्टेनर व्यवसायी सङ्घका उपाध्यक्ष अर्जुन सापकोटाले भने। करिव ६० किलोमिटर दूरीको विभिन्न स्थानमा गएको पहिरो पन्छाउन बाह्रबीसेस्थित सडक कार्यालयमा एक मात्र डोजर तैनाथ छ, त्यो पनि टायरवाला।

एक ठाउँको पहिरो पन्छाइ नसक्दै अर्को स्थानमा पहिरो जान्छ। राजमार्ग नियमितजसो बन्द छ। व्यापारीको गुनासोपछि तीन दिनअघि चेनवाला डोजर ल्याइएको थियो। एक दिन काम नगर्दै डोजर बिग्रिएर डाक्लाङमा थन्किएको छ। 'सडक खुलाउन ध्यान नदिएको होइन', डिभिजन सडक कार्यालय दोलखाका प्रमुख इन्जिनियर उमेशविन्दु श्रेष्ठले भने- दैवी प्रकोपको अघि कसको के लाग्छ ?' एक जिल्लामा एउटाभन्दा बढी डोजर दिन नमिल्ने सरकारी नीति रहेको उल्लेख गर्दै उनले राजमार्गको अवस्था हेर्दा यतिबेला दुई चेन र एक टायरवाला गरी तीन डोजरको आवश्यकता रहेको बताए। 'टायरवाला डोजरले पहिरो पन्छाउन सम्भव नै छैन'-  उनले भने।

सडकको विषयमा ध्यानाकर्षण गराउँदै व्यापारीले रोकिएका सामग्रीको सुरक्षा दिन स्थानीय प्रशासनसँग माग गरेका छन्। 'यति महत्वपूर्ण नाकामा पर्याप्त स्रोतसाधन तयारी हालतमा हुनुपर्थ्यो, त्यो देखिएन', प्रमुख जिल्ला अधिकारी हरिकृष्ण उपाध्यायले भने- व्यापारीको गुनासोपछि समस्या सडक विभागमा राखिदिएको छु।

समयमै बजार पुर्‍याउन नसक्दा करिव ५० कन्टेनर स्याउ भित्रै कुहिन थालेका छन्। लोड गरेको केही दिनमै स्याउ बजार पुग्नुपर्ने व्यापारी बताउँछन्। चिनियाँ भू–भाग, लिपिङ, तातोपानी, डाकलाङ, बोर्डरल्याण्ड, सखुवालगायत ठाउँमा सामग्रीले भरियाका कन्टेनर रोकिएका छन्। सवारी आवागमन बन्द हुँदा यात्रु, पर्यटक हिँड्न बाध्य छन्।

सडक विभागका महानिर्देशक रामकुमार लम्सालले थप साधन पठाएर केही दिनमै राजमार्ग सञ्चालनमा ल्याइने दाबी गरे। उनले नागरिकसँग भने- व्यापारीले गुनासो गर्नु आफ्नो कुरा हो। स्रोत साधन उपलब्धताको स्थिति पनि हेर्नुपर्छ। राजमार्गमा बितेका १० भदौको तुलनामा यो भदौमा बढी पहिरो गएको उनले जानकारी दिए। nagariknews.com

0 comments:

Post a Comment

powered by Blogger | WordPress by Newwpthemes | Converted by BloggerTheme