'माओवादी र पूर्वराजा दोषी'

Friday, September 3, 2010

काभ्रे, १६ भदौ

ऊर्जामन्त्री डा.प्रकाशशरण महतले एनेकपा माओवादी र राजाको हस्तक्षेपले देश जोखिममा परेको बताएका छन् । काभ्रे र भक्तपुरको सिमानामा पर्ने साँगामा साँगा खानेपानी आयोजनाको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

वेला-वेलामा भइरहने माओवादी र राजाको हस्तक्षेपका कारण हिंसाको माहोलमा देश गएको आरोप उनले लगाए । दलहरूबीचको खिचातानीका कारण नयाँ संविधान नबन्ने सम्भावना बढेको चर्चा गर्दै मन्त्री महतले भने, 'थपिएको समयभित्र पनि संविधान नबने संविधानसभाको औचित्यमाथि खतरा हुनेछ ।'

माओवादीप्रति लक्षित गर्दै उनले हिंसाको माहोलमा देश गएका कारण उद्योग-व्यवसाय फस्टाउन नसकेको र राजस्वमा कमी आएको पनि बताए । 'उद्योग- व्ययसाय गर्न नदिने, भएको उद्योगलाई पनि बन्द गराउनेे अनि बेरोजगार युवालाई सडकमा उतारेर रोजगारीको ग्यारेन्टी गर भनेर दबाब दिने, यो कसका लागि हो ?' महतले प्रश्न गरे ।

५७ लाखको लागतमा निर्माण सम्पन्न भएको उक्त खानेपानीबाट साँगाका १ हजार ६ सय बासिन्दा लाभान्वित हुनेछन् । साँगाकै वडा नं. ७ स्थित पेरुंगे वनबाट ल्याइएको पानीमार्फत १८ वटा सार्वजनिक र २ सय १० वटा निजी धारा विरतण गरिएको छ । प्रो नेपाल इटाली नामक संस्थाको ७० प्रतिशत आर्थिक सहयोग, जिल्ला विकास समिति काभ्रेको १ लाख ५० हजार र गाविसको करिब ५ लाखको लगानीमा सो आयोजना सम्पन्न गरिएको साँगा खानेपानी निर्माण संयोजक प्रकाशचन्द्र जोशीले जानकारी दिए ।
REF: NAYAPATRIKA

0 comments:

Post a Comment

powered by Blogger | WordPress by Newwpthemes | Converted by BloggerTheme