‘भदौरे भेल’ले जनजीवन अस्तव्यस्त

Thursday, September 2, 2010


कतै खाद्यसंकट, कतै बाटो वन्द
दोलखा, १७ भदौ

वर्षायाम सकिन लागेको बेला परेको अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाको जनजीवन अस्तव्यस्त बनाएको छ । कतै राजमार्ग अवरुद्ध भएको छ भने कतै पहिरोले घर भत्किएका छन् । प्रतिकुल मौसमका कारण पश्चिम नेपालका विभिन्न जिल्लामा हवाईसेवा अवरुद्ध हुँदा ती जिल्लामा खाद्य संकट भएको छ । दोलखा, रसुवा लगायतका जिल्लाका मुख्य सडक अवरुद्ध भएपछि जनजीवन कष्टकर भएको समाचार प्राप्त भएको छ ।

दोलखा –लगातारको वर्षाका कारण गएको पहिरोले लामोसाँघु–जिरी र पुष्पलाल मार्ग अवरुद्ध भएको छ ।

पहिरोले लामोसाँघु–जिरी सडकखण्डअन्तर्गतको हलहले र पुष्पलाल मार्गको भीरकोटमा अवरोध सिर्जना गरेको छ । पहिरोका कारण रामेछापबाट दोलखा र राजधानीका लागि छुटेका सवारीसाधन बाटोमा अलपत्र परेका छन् । दोलखाका प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले मौसममा सुधार नभएसम्म सडक मर्मतसम्भार गर्न नसकिने बताए ।

उनका अनुसार सडक मर्मतसम्भार गरेर पूर्णरुपमा यातायातका साधन सञ्चालन गर्न कम्तीमा एक साता लाग्नेछ । यसैगरी, हलहलेमा सञ्चालित ढुङ्गाखानीबाट खसेको पहिरोले लामोसाँघु–जिरी सडक पनि बन्द भएको छ ।

रसुवा– अविरल वर्षासँगै गएको पहिरोका कारण रसुवावासीको जीवन अस्तव्यस्त भएको छ ।

मूलखर्कको पहिरो पन्छाउन नसकिएपछि दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या भएको छभने यहाँका अधिकांश पसल त्यस्ता सामग्रीविहीन भएका छन् । पासाङ ल्हामु राजमार्गअन्तर्गत राम्चेगाउँमा पर्ने मूलखर्कको पहिरोले विगत १२ वर्षदेखि रसुवावासीलाई पिरोलेको भए तापनि सम्बन्धित निकायको संवेदनाहीनताका कारण समस्या चर्किएको होटल व्यवसायी नुर्पु तामाङले गुनासो गरे ।

पहिरो पन्छाउन नसक्दा भरिया लगाएर सामान ढुवानी गर्नु परेको र त्यसरी झिकाइएका सामानको मूल्य कम्तीमा १० रुपैयाँले बढ्ने गरेको उनले बताए । mechikali.com

0 comments:

Post a Comment

powered by Blogger | WordPress by Newwpthemes | Converted by BloggerTheme