अस्पताल लैजाने पैसा नहुँदा सुत्केरीको मृत्यु

Thursday, September 2, 2010

ध्रुव दंगाल, सिन्धुपाल्चोक, भदौ १६-
अस्पताल लैजाने पैसा नहुँदा पिछडिएको अल्पसंख्यक समुदायकी सुत्केरीको मृत्यु भएको छ। अत्यधिक रक्तस्रावले हिमाली गाविस सुनखानी-३, खानिगाउँकी २७ वर्षीय लबी थामीको मृत्यु भएको हो।

छिमेकीको सहायतामा उनले सोमबार बिहान ९ बजेतिर आफ्नै घरमा छोरा जन्माएकी थइन्। त्यसपछि अत्यधिक रक्तस्राव भएपछि उनी बेहोस भएर ढलेकी थिइन्। बेहोस अवस्थामै नौ घन्टामा उनको मृत्यु भयो।

छिमेकी देवीबहादुर बुढाथोकीका अनुसार रक्तस्राव भएपछि सुत्केरी गराउन बसेका सहयोगीले साल काटेर शिशु छुट्याएका थिए। चिकित्सकका अनुसार समयमै स्वास्थ्य संस्था पुर्‍याएको भए उनी बाँच्थिन्। नौ घन्टासम्म बेहोस भएकी उनलाई एक घन्टा लाग्ने देवीस्थानमा प्राथमिक स्वास्थ्य केन्द्र लगिएन। सहयोगीले स्वास्थ्य संस्था लैजान परिवारलाई अनुरोध गरेको थियो। उपचार गराउने पैसा नभएको र अघिल्ला दुई सन्तान पनि घरमै जन्मेकाले परिवारले उपचारमा लैजान आवश्यक ठानेन। गाउँको स्वास्थ्य चौकीबाहेक दुई-तीन घन्टाको दुरीमा खाडीचौर र बाह्रविसेमा सुरक्षित सुत्केरी सेवा दिने सामुदायिक र सरकारी अस्पताल थिए।

जिल्ला अस्पताल चौताराका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र पन्तले सालनाल नझरेकै कारण ज्यान गएको हुनसक्ने बताए। उनले भने, 'समयमै अस्पताल लगिएको भए उनलाई बचाउन सकिन्थ्यो।'

उनीहरूका ७ र ४ वर्षका दुई छोरा छन्। अति विपन्न थामी परिवारलाई खेतीले तीन महिनाबढी खान पुग्दैन। लबी र उनका पति चंखे थामीले मजदुरी गरेर जुटाउने कमाइ दैनिक गुजाराको स्रोत हो।

नजिकै स्वास्थ्य चौकी रहेपनि लबी गर्भावस्थामा एकपटम मात्र जचाउन गएकी थिइन। यो अवथामा तीन/चार पटक जचाएर नियमित आइरन चक्की खानुपर्छ। 'एक पटक उहाँ (लबी) आउँदा हातखुट्टा केही सुन्निएका जस्ता देखिन्थे', गाउँकी अनमी रेणुका न्यौपानेले भनिन्', 'नियमित जचाउन आउनु भनेको थिएँ मान्नु भएन।' उनले सुत्केरीको मृत्यु भएपछि मात्र आफूले जानकारी पाएको बताइन्।

जिल्ला स्वास्थ्य कार्यालयका मेडिकल अधिकृत कृष्णबहादुर मिजार 'इक्लामसिया' अवधिमा पनि सुत्केरीको ज्यान जाने खतरा उच्च रहेको बताउँछन्। सुत्केरीपछिको जटिल अवस्थालाई 'इक्लामसिया' भनिन्छ। 'यो बेला शरिर सुन्निने, सुगर र ब्लडप्रेसर उच्च हुने र कामने जस्ता समस्या देखापर्छन', उनले भने, 'तत्काल उपचार नुहँदा ज्यानै जान्छ।' यो समस्या सुत्केरीपछिको ७ दिनसम्म देखापर्न सक्ने उनले बताए।

डा. पन्तका अनुसार चेतना र अस्पतालमा सुत्केरी हुन रकम लाग्दैन भन्ने ज्ञान अभावले पनि सुत्केरी ज्यान गुमाउन बाध्य भएको बताए। 'जटिल अप्रेसन नै गर्नुपर्ने भयो भने पैसा लाग्न सक्छ नत्र सुत्केरी सेवा निशुल्क हुन्छ', उनले भने। उनका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी गराएबापत सरकारले १ हजार ५ सय रुपैयाँ यातयात खर्चसमेत उपलब्ध गराउँदै आएको छ। - nagariknews

0 comments:

Post a Comment

powered by Blogger | WordPress by Newwpthemes | Converted by BloggerTheme