५० करोडका दशैं सामग्री पहिरोमै

Friday, September 10, 2010

सडक विभागसँग व्यापारी आक्रोशित-
ध्रुव दङ्गाल, (बाह्रबीसे) सिन्धुपाल्चोक, भदौ २५-
सैंका लागि अर्डर गरिएका करोडौं रुपैयाँका सामग्री पहिरोमा रोकिएपछि तातोपानी नाकाका व्यापारी सडक विभागसँग आक्रोशित भएका छन्। पहिरो पन्छाएर सडक सुचारु गर्न ध्यान नदिँदा घाटा सहनुपर्ने बाध्यता सिर्जना भएको उनीहरुको गुनासो छ।

'सडक विभाग कानमा तेल हालेर बसेको छ', सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले आक्रोश पोख्दै भने- दसैंको व्यापार चौपट हुन लाग्यो। स्थलमार्गबाट नेपाल–चीन व्यापार हुने एकमात्र राजमार्गमा विभागले चाहिने जति ध्यान नदिएको उनले बताए।

पहिरोले राजमार्ग विभिन्न स्थानमा अवरुद्ध हुँदा भन्सार चेकजाँच भइसकेका करिव ३ सय मालबाहक कन्टेनर रोकिएका छन्। श्रेष्ठका अनुसार तयारी पोशाक, जुत्ता, चप्पल, खेलौना, सजावटका सामानलगायत् झण्डै ५० करोड रुपैयाँ मूल्यका सामग्री बाटोमा रोकिएका छन्। अरु सयौं कन्टेनर सामग्री लोड गर्न खासा जान सकेका छैनन्।  बीच बाटोमा थुनिएर बसेका छन्।

'खासाका गोदाममा दसैंका लागि पर्याप्त सामग्री आइसके पनि समयमै राजधानी लैजान पाइएको छैन'- उनले भने।

राजमार्गको बन्देउ–तातोपानी सडक खण्डको झण्डै ५० स्थानमा साना–ठूला पहिरो गएका छन्। ठूला पहिरो मात्र १० को हाराहारीमा छ। 'पहिरो पन्छाउने नाममा झारा मात्र टारिएको छ। संवेदनशीलरुपमा लिइएको छैन', नेपाल ट्रक कन्टेनर व्यवसायी सङ्घका उपाध्यक्ष अर्जुन सापकोटाले भने। करिव ६० किलोमिटर दूरीको विभिन्न स्थानमा गएको पहिरो पन्छाउन बाह्रबीसेस्थित सडक कार्यालयमा एक मात्र डोजर तैनाथ छ, त्यो पनि टायरवाला।

एक ठाउँको पहिरो पन्छाइ नसक्दै अर्को स्थानमा पहिरो जान्छ। राजमार्ग नियमितजसो बन्द छ। व्यापारीको गुनासोपछि तीन दिनअघि चेनवाला डोजर ल्याइएको थियो। एक दिन काम नगर्दै डोजर बिग्रिएर डाक्लाङमा थन्किएको छ। 'सडक खुलाउन ध्यान नदिएको होइन', डिभिजन सडक कार्यालय दोलखाका प्रमुख इन्जिनियर उमेशविन्दु श्रेष्ठले भने- दैवी प्रकोपको अघि कसको के लाग्छ ?' एक जिल्लामा एउटाभन्दा बढी डोजर दिन नमिल्ने सरकारी नीति रहेको उल्लेख गर्दै उनले राजमार्गको अवस्था हेर्दा यतिबेला दुई चेन र एक टायरवाला गरी तीन डोजरको आवश्यकता रहेको बताए। 'टायरवाला डोजरले पहिरो पन्छाउन सम्भव नै छैन'-  उनले भने।

सडकको विषयमा ध्यानाकर्षण गराउँदै व्यापारीले रोकिएका सामग्रीको सुरक्षा दिन स्थानीय प्रशासनसँग माग गरेका छन्। 'यति महत्वपूर्ण नाकामा पर्याप्त स्रोतसाधन तयारी हालतमा हुनुपर्थ्यो, त्यो देखिएन', प्रमुख जिल्ला अधिकारी हरिकृष्ण उपाध्यायले भने- व्यापारीको गुनासोपछि समस्या सडक विभागमा राखिदिएको छु।

समयमै बजार पुर्‍याउन नसक्दा करिव ५० कन्टेनर स्याउ भित्रै कुहिन थालेका छन्। लोड गरेको केही दिनमै स्याउ बजार पुग्नुपर्ने व्यापारी बताउँछन्। चिनियाँ भू–भाग, लिपिङ, तातोपानी, डाकलाङ, बोर्डरल्याण्ड, सखुवालगायत ठाउँमा सामग्रीले भरियाका कन्टेनर रोकिएका छन्। सवारी आवागमन बन्द हुँदा यात्रु, पर्यटक हिँड्न बाध्य छन्।

सडक विभागका महानिर्देशक रामकुमार लम्सालले थप साधन पठाएर केही दिनमै राजमार्ग सञ्चालनमा ल्याइने दाबी गरे। उनले नागरिकसँग भने- व्यापारीले गुनासो गर्नु आफ्नो कुरा हो। स्रोत साधन उपलब्धताको स्थिति पनि हेर्नुपर्छ। राजमार्गमा बितेका १० भदौको तुलनामा यो भदौमा बढी पहिरो गएको उनले जानकारी दिए। nagariknews.com

पहिरोमा परीएर चारको मृत्यु

Wednesday, September 8, 2010

सिन्धुपाल्चोक २३ भदौ । 
सिन्धुपाल्चोक जिल्लाको मांखा गाविसमा पहिरोले एक घर वगाउदा सुतिरहेका एक परिवारका चार जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये दुई जनाको शव फेला परेको छ भने दुई जनाको शव फेला परेको छैन । सिन्धुपाल्चोक जिल्लाको मांखा गाविस वडा नम्वर १ लामपातेका स्थानिय रमेश कार्कीको घर बगाउदा घरमा सुतेकाहरुलाई पहिरोले बगाएको हो । रमेश कार्कीसहित आमा ५० वर्षीया पदमकुमारी माइलोबुबा ४० वर्षीय भक्तबहादुर र छोरा चार वर्षीय रन्जन पुरिएका थिए । छोरा रन्जन र आमा पद्यमकुमारीको शव भेटिएको छ । अन्य दुई जनाको शवि फेलापरेको छैन । प्रहरीले कमला र सरोज भने जिवितै उद्धार गरेको छ । माथिबाट आएको पहिरोले घर बगाएपछि सुतेका पुरीएका हुन् ।

अझै भेटिएनन् भोटेकोशीमा वेपत्ता

Tuesday, September 7, 2010

सिन्धुपाल्चोक, २२ भदौ

यात्रुबससहित भोटेकासी नदीमा डुबेर बेपत्ता भएकालाई दोस्रो दिन फेला पार्न सकिएको छैन। नदीमा हराएको २५ मध्ये २२ यात्रुको परिचय खुलेको छ। बेपत्ता भएको पुष्टिपछि खोजीका लागि आफन्तहरु प्रहरी समक्ष पुगेका छन्। कम्तिमा ३५ यात्रु बोकेर गाती बसेरीबाट बाह्रविसे आउँदै गरेको बा२ख ४०१३ नम्बरको बाह्रविसे यातायातको बस एक किलोमटिर नगुड्दै सोमबार भोटेकासी नदीमा खसेको थियो। चालकसहित चार यात्रु पौडेर बाँच्न सफल भएका थिए भने पाँचको शव भेटिएको थियो।
सोमबार रातपरेपछि स्थगित गरिएको खोजी कार्य मंगलबार बिहानैदेखि थालिएको थियो। घटनास्थलदेखि दोलालघाटसम्म करिव ५० किलोमिटरको दुरीमा टोली-टोली बनाएर खोजी गरिएको थियो। केही नभेटिएपछि खोजटोलीले साँझ स्थगन गरेर फर्किएको छ।
बस पनि भेटिएको छैन। सुरक्षाकर्मी, स्थानीयबासी र आफन्त गरी २ सय बढी खोजीमा जुटेका थिए। वर्षाका कारण नदीको सतह बढेकाले खोजीकार्यमा कठिनाइ उत्पन्न भएको इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरी निरीक्षक हेरम्ब शर्माले बताए।
इक्वेटर रिसोर्ट सुकुटेका पौडीवाज टोली सात र्‍याफ्टिङ बुथ लिएर दोलालघाट निस्केको थियो। अरनिको राजमार्गका सबै युनिटलाई युनिटलाई खोजीकार्यमा परिचालन गरिएको थियो। ५२ जनपद, १० सशस्त्र प्रहरी र ६७ जना नेपाली सेना खोजीमा परिचालन गरिएको प्रहरी निरीक्षक शर्माले बताए।
- nagariknews.com

घर भत्किएर बाबु–छोराको मृत्यु

काभ्रे, २२ भदौ
काभ्रेको ज्याम्दी गाउँ विकास समिति– ६ रामपुरमा घर भत्किएर बाबु छोराको मृत्यु भएको छ । अबिरल वर्षाका कारण ज्याम्दी– ६ रामपुरबासी काजी परियारको घर भत्कँदा ३५ वर्षिय काजी परियार र उनका ५ वर्षिय छोरा सुजन परियारको मृत्यु भएको स्थानीयबासी रामकुमार ठकुरीले जानकारी दिएका छन् । अबिरल वर्षाका कारण सोमबार राती १०:३० बजे घर भत्केको हो । घर भत्किएपछि मृतक काजीकी ३४ वर्षिया श्रीमती शान्ति परियार र १२ वर्षिय छोरा सुमन परियार घाईते भएका छन् ।
घाईते दुवैलाई उपचारका लागि काठमाडौँ पठाइएको ठकुरीले जानकारी दिएका छन् । उनीहरुको घरको जग नै भासिएको छ ।

भोटेकोशीमा बस खस्यो, १५ जना बेपत्ता

Sunday, September 5, 2010


सिन्धुपाल्चोक, २१ भदौ
सिन्धुपाल्चोकको गाती गाविसनजिकैको ढुंगाखानीबाट भोटेकोशीमा आज बिहान एक यात्रुवाहक बस खस्दा कम्तिमा १५ जना बेपत्ता भएका छन्। चालक, सहचालक र एक यात्रु नदीमा पौडेर बच्न सफल भएका छन्। बाँकी १५ जना बेपत्ता भएको प्रहरीले पुष्टि गरेको घटनास्थलमा रहेका नागरिकन्युजकर्मी ध्रुव दंगालले जनाएका छन्।

तातोपानीबाट बाह्रबिसे आउँदै गरेको ना २ ख ४०१३ नम्बरको यात्रु बस सिन्धुपाल्चोकको गाती गाविस ९ ढुंगाखानी भन्ने ठाउँबाट सय मिटर तल भोटेकोशीमा खसेको हो।



घटनास्थल काठमाडौँबाट १०५ किलोमिटरको दूरीमा पर्छ। अहिले घटनास्थलमा प्रहरी र स्थानीय बासिन्दाहरुले उद्धार गरिरहेका छन्।



यसअघि बसमा ३० यात्रु रहेको भनिए पनि बसमा चालकसहित १८ जना यात्रु रहेको र १५ जना बेपत्ता रहेको प्रहरीले पुष्टि गरेको छ। --- NAGARIKNEWS.COM

चोरीका मोबाइल सेट बरामद

Saturday, September 4, 2010


सिन्धुपाल्चोक, १८ भदौ

चोरीपैठारी गरी ल्याइएको मोवाइल सेट सिन्धुपाल्चोक जिल्लाको तातोपानी ३ बाट सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल राजस्व एवं भन्सार सुरक्षा वेस तातोपानीबाट गस्तीमा खटिएको एपीएफ टोलीले करीव ३० हजार रुपैयाँ बराबरको उक्त मोवाइल सेट हिजो वेलुका बरामद गरेको हो । बरामद मोवाइल सेट एपीएफ टोलीले हिजै आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल पाथिभरा गणबाट खटिएको एपीएफ टोलीले झापाको पाथिभरा चोकमा आज विहान सवारी साधनमा जाँचगर्ने क्रममा फेला पारेको चोरीपैठारीको करीव २६ हजार रुपैयाँ बराबरको लत्ताकपडा आवश्यक कारवाहीको लागि स्थानीय राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको छ । - mechikali.com

'माओवादी र पूर्वराजा दोषी'

Friday, September 3, 2010

काभ्रे, १६ भदौ

ऊर्जामन्त्री डा.प्रकाशशरण महतले एनेकपा माओवादी र राजाको हस्तक्षेपले देश जोखिममा परेको बताएका छन् । काभ्रे र भक्तपुरको सिमानामा पर्ने साँगामा साँगा खानेपानी आयोजनाको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

वेला-वेलामा भइरहने माओवादी र राजाको हस्तक्षेपका कारण हिंसाको माहोलमा देश गएको आरोप उनले लगाए । दलहरूबीचको खिचातानीका कारण नयाँ संविधान नबन्ने सम्भावना बढेको चर्चा गर्दै मन्त्री महतले भने, 'थपिएको समयभित्र पनि संविधान नबने संविधानसभाको औचित्यमाथि खतरा हुनेछ ।'

माओवादीप्रति लक्षित गर्दै उनले हिंसाको माहोलमा देश गएका कारण उद्योग-व्यवसाय फस्टाउन नसकेको र राजस्वमा कमी आएको पनि बताए । 'उद्योग- व्ययसाय गर्न नदिने, भएको उद्योगलाई पनि बन्द गराउनेे अनि बेरोजगार युवालाई सडकमा उतारेर रोजगारीको ग्यारेन्टी गर भनेर दबाब दिने, यो कसका लागि हो ?' महतले प्रश्न गरे ।

५७ लाखको लागतमा निर्माण सम्पन्न भएको उक्त खानेपानीबाट साँगाका १ हजार ६ सय बासिन्दा लाभान्वित हुनेछन् । साँगाकै वडा नं. ७ स्थित पेरुंगे वनबाट ल्याइएको पानीमार्फत १८ वटा सार्वजनिक र २ सय १० वटा निजी धारा विरतण गरिएको छ । प्रो नेपाल इटाली नामक संस्थाको ७० प्रतिशत आर्थिक सहयोग, जिल्ला विकास समिति काभ्रेको १ लाख ५० हजार र गाविसको करिब ५ लाखको लगानीमा सो आयोजना सम्पन्न गरिएको साँगा खानेपानी निर्माण संयोजक प्रकाशचन्द्र जोशीले जानकारी दिए ।
REF: NAYAPATRIKA

हिमानीको दोलखा भ्रमणको भित्री कुरो

विशाल खड्का
 राजाको सक्रिय शासन व्यवस्था-पञ्चायतकालमा दोलखाका उप्रेती र खड्काहरु जिल्लाका मुख्य प्रतिनिधिहरु मानिन्थे। ती खड्काहरुको बसोबास भएको उत्तरी गाविस लादुक र उप्रेतीहरुको बसोबास भएको नाम्दु गाविस राजावादीहरुको आधारक्षेत्रजस्तै भएर अस्तित्वमा रहे। दोलखा जिल्लाको क्षेत्र नं १ मा पर्ने नाम्दुलाई केन्द्र बनाएर उप्रेतिले राज गरे भने क्षैत्र नं २ मा पर्ने लादुकलाई आधार बनाएर राजाको काज चलाए। वास्तवमा तिनै उप्रेति र खड्काहरुको अत्याचार र निरंकुशताको विरोध गर्दागर्दै अधिकांश दोलखालीहरु वामपन्थी बने भने दोलखा जिल्ला वामपन्थीहरुको भरपर्दो आधार क्षेत्र बन्यो। बहुदल स्थापनापछि सम्पन्न निर्वाचनहरुमा एमालेलाई मत जाहेर गर्दै आएको दोलखालीले पछिल्लो संविधानसभा निर्वाचनमा माओवादी पार्टीलाई दुवै क्षेत्रबाट अत्यधिक मतले विजयी गराएका हुन्।
देशमा सञ्चालित जनयुद्ध अवधिमा जनयुद्ध र त्यसका सञ्चालकहरुलाई अत्यधिक सहभागिता र माया गरे दोलखालीले। त्यो भनेको राजतन्त्रप्रतिको आक्रोशको स्वाभाविक रुप थियो। देशमा २०६२/६३ को ऐतिहासिक जनआन्दोलनपछि शान्तिकालको बिहानीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दोलखाको जिरी घुम्न आउँदा सबैभन्दा बढी खुसी र स्वागत नाम्दुवासी जनताले नै प्रकट गरेका थिए। त्यसो हुनु भनेको राजा र उनका स्थानीय गोठाला उप्रेतीहरुको शासन उखेल्ने साहसिक क्रान्ति नायकको रुपमा सम्मान गर्दै उप्रेतीसँगको आक्रोश प्रचण्डप्रति प्रेमको रुपमा प्रकट गरेका थिए।

आज संविधानसभा निर्वाचनपछि राजतन्त्र अन्त्य भएको तर जनताको संघीय गणतन्त्र संस्थागत भइनसकेको संक्रमणकालीन अवस्थामा प्रतिक्रियावादी चलखेल तीव्र भएको छ। भारतीय हस्तक्षेप सँगसँगै बनवासका राजाहरुको ताण्डव नृत्य पनि सुरु भएको छ। मसानघाटमा पुगिसकेको भनिएको राजतन्त्रको भूत गाउँगाउँमा निस्किँदा नेपाली जनता आतंकित हुनु स्वाभाविक छ। यही भदौ १४/१५ गते पूर्व युवराज्ञी हिमानी शाहको दोलखा भ्रमण राजतन्त्र बिउँताउने प्रारम्भिक कोसिसको रुपमा हामी सबैले देख्न र बुझ्न पायौँ। हिमानीले दोलखाका दुई स्थान छनोट गरिन्। पहिलो, भीमसेनस्थानको मूर्तिमा पसिना आउँदा दरबारमा संकट हुन्छ भन्ने आमचर्चा र विश्वास बोकेको ऐतिहासिक भीमेश्वर मन्दिरमा पूजा गरेर आफ्नो पुनर्बासको भाकल गरिन् भने आफ्नो इतिहासको आधारक्षेत्र नाम्दुमा खानेपानी ट्यांकी र पाइप बाँडेर पुनर्काजको याचना गरिन्। उनको दोलखा भ्रमण सक्रिय राजतन्त्रको पुनर्राज गराउने प्रयत्न हो भन्ने स्वतः पुष्टि भएको छ।

राजपरिवारको जिल्ला दोडाहा यो नै पहिलो र नौलो भने होइन। परन्तु उनको भ्रमण प्रकृति र चरित्र भने फरक छ। हिमानी दोलखा आइन् रे भन्दा एउटा नागरिकको आगमन भनेर बुझ्ने नै बढी थिए। उनको आगमनको बढी चर्चा गर्दा स्वयम्को मूल्य बढी होला कि भन्ने बुझाइ थियो। विषय त्यतिखेर जटिल बन्यो, उनी आउने अघिल्लो राति नेपाली सेना र दरबारको केही कर्मचारीहरुको सक्रियतामा खाने पानीको पाइप र ट्यांकी ल्याइएकोे हल्ला चल्यो। दोलखामा कार्यरत मुख्य तीन पार्टीहरु माओवादी, एमाले र काग्रेसका जिल्ला नेतृत्वबीच छलफल भयो। उनी दोलखामा आएको दिन भदौ १४ गते चरिकोटमा आयोजित एक खुला कार्यक्रममा आमसञ्चारकर्मी, नागरिक समाज र अन्य अधिकारकर्मीहरुको रोहवरमा युवराज्ञीले बहालवाला नागरिकको रुपमा भीमेश्वरको दर्शन गर्नु स्वाभाविक भए पनि गाउँगाउँ गएर विकास बाँड्ने कार्य प्रतिगामी हस्तक्षेप हो। सक्रिय राजतन्त्र बिउँताउने षड्यन्त्र हो भनी त्यसलाई रोक्न स्थानीय प्रशासनलाई सचेत गराउने कार्य भयो। स्थानीय प्रशासनले बिन्ती गरेको जानकारी गरायो तर दरबारी टोलीले गन्तव्य बदलेन। अपितु ठूला पार्टीका उच्च नेताहरुसँग छलफल भइसक्यो, तिमीहरुले किन नमान्ने भनी प्रशासन अधिकारीलाई धम्की दिने काम भयो। त्यसको जानकारी सबै दलका नेताहरुलाई गराइयो।
भदौ १५ गते बिहान राष्ट्रिय स्तरका समाचारमाध्यमले हिमानीको भ्रमणसँग जोडेर माओवादी पार्टीको उछितो काढ्ने गरी भ्रामक समाचार छापेपछि दोलखा माओवादी पार्टी कार्यालयबाट उनीहरुलाई गाउँ नजान कडा चेतावनी जारी गरियो। स्थानीय प्रशासनले पनि अनुरोध दोहोर्‍यायो। परन्तु टेर्ने काम भएन। त्यसपछि गृह मन्त्रालयमा 'यो स्थिति हो भने हामी काम गर्न सक्दैनौँ तुरुन्तै भ्रमण रोक्नु पर्‍यो भनी अनुरोध गर्‍यो। जिल्ला प्रशासनको अनुरोधको आधारमा गृहसचिवले हिमानीको टोलीलाई खबर गर्दा जिल्लाका सिडियो डिएसपीले हिमानी भ्रमण दलका चुल्ठेमुन्द्रेहरुको धम्की खानु पर्‍यो। जिल्लाको सिडियोलाई अपरिचित एक महिलाले कार्यालय कम्पाउण्डमा नै गएर दिएको धम्की दोलखाली सचेत नागरिकका लागि चासोको विषय बनेको छ। यो सम्पूर्ण नेपाली नागरिक र राष्ट्र सेवक कर्मचारीका लागि गम्भीर चिन्ताको विषय हो।
त्यसपछि बाटोमा अवरोध छ जानु हुँदैन भन्दा सुरक्षाकर्मी भनिने हिमानीका सेवकहरुबाट अवरोध पन्छाउदै नाम्दु लैजाने काम भयो। त्यस क्रममा यस पंक्तिकारलाई मोबाइल नं ९८४१४१७९५८ बाट मसिनो स्वरमा धम्क्याउने शैलीले अवरोध नगर्न आदेश आयो। मैले ठाडो प्रतिकार गरेँ, म राजतन्त्रको पुनः अन्त्य र गणतन्त्र स्थापनाका लागि समर्पित योद्धा हुँ नधम्क्याउँदा हुन्छ भनेँ। त्यसपछि भेटेर छलफल गर्ने प्रस्तावमाथि र त्यस्तै खालको अन्य जनतालाई सुविधा पुग्ने सहयोग गर्छौँ भन्ने अनि ललीपप पनि † मैले ठाडै अस्वीकार गरे। यसरी जिल्लाका पार्टी प्रतिनिधिहरु र सुरक्षा अधिकारीहरुलाई धम्की दिएर आफूखुसी भाषण गर्दै हिँड्नु गणतन्त्रप्रतिको ठाडो बलात्कार होइन र † मात्र सचेत नागरिकले बुझ्नै पर्ने भएको छ।
दरबारिया प्रतिगामी शक्तिको यस खालको चलखेल कथित राष्ट्रवादी पदचापको रुपमा 'सामान्य नागरिक' को हैसियतले भइराखेको छ। उनीहरु सामान्य नागरिक हुन खोजेको भए स्थानीय प्रशासन र सर्वदलीय आग्रहको भावनामुताविक चल्थे होलान्। उनीहरुले सांस्कृतिक राजसंस्था खोजेको भए भीमेश्वरलाई दर्शन गरी अनाथ बालबालिकालाई प्रसाद दिएर फर्कन्थे होलान्। तर, आफ्नो इतिहासको किपटथलो खोज्दै त्यसको शिला पुज्न भौतारिनु भनेको सक्रिय राजतन्त्रको पुनर्बहाली गर्ने दुस्प्रयास हो। त्यहाँ विकासका नाममा कथित हिन्दू अधिराज्यको माग भएको र राजनीतिक दलहरुको भण्डाफोर गरिएको पर्चा बाँडिएको छ। कथित 'राष्ट्रिय सरोकार मञ्च नेपाल' नामक सस्थाको आयोजना र पहलमा केन्द्रदेखि अंञ्चल कमिटी जिल्ला कमिटी र जिल्ला-काठमाडौँ सम्पर्क कमिटीको समेत संगठनात्मक फर्मेसनमा राजावादीहरुको चलखेल भएको तथ्यको रहस्योद्घाटन भएको छ।
नेपाली जनताले आफ्नो भाग्य र भविष्य सुनिश्चित भएको स्थायी शान्ति र जनमुखी संविधान खोजी गरी राखेको बेला एकातिर बाह्य हस्तक्षेप तीव्र भइरहेको छ भने त्यसको विकल्पमा कथित राष्ट्रवादी नारा बोकेर आन्तरिक प्रतिगामी चलखेल उत्कर्षमा जाँदैछ। वास्तवमा भारतीय चलखेलको विरोध गरेजस्तो गरेर धमिलो पानीमा माछा मार्ने नियतले दरबारिया चलखेल बढेको छ। प्रतिगामीहरु आफैँभित्र दुई धुव बनाएर नेपालका राजनीतिक दलहरुलाई यो वा त्यो भनी रंग भर्न सक्रिय देखिन्छन्। नेपालका दल र तिनका ठूला नेताहरुलाई चेतना भया, भारत † वा दरबार † होइन नेपाली जनता तिम्रो ध्रुव हो। त्यसैमा हामीले विश्वास गर्नुपर्छ, नेपाली जनताले नै शान्ति र संविधानको ग्यारेन्टी गराउनेछन्।

लेखक एमाओवादी, दोलखाका सहसेक्रेटरी हुन्। 

REF. : NAGARIKNEWS.COM

‘भदौरे भेल’ले जनजीवन अस्तव्यस्त

Thursday, September 2, 2010


कतै खाद्यसंकट, कतै बाटो वन्द
दोलखा, १७ भदौ

वर्षायाम सकिन लागेको बेला परेको अविरल वर्षाका कारण देशका विभिन्न जिल्लाको जनजीवन अस्तव्यस्त बनाएको छ । कतै राजमार्ग अवरुद्ध भएको छ भने कतै पहिरोले घर भत्किएका छन् । प्रतिकुल मौसमका कारण पश्चिम नेपालका विभिन्न जिल्लामा हवाईसेवा अवरुद्ध हुँदा ती जिल्लामा खाद्य संकट भएको छ । दोलखा, रसुवा लगायतका जिल्लाका मुख्य सडक अवरुद्ध भएपछि जनजीवन कष्टकर भएको समाचार प्राप्त भएको छ ।

दोलखा –लगातारको वर्षाका कारण गएको पहिरोले लामोसाँघु–जिरी र पुष्पलाल मार्ग अवरुद्ध भएको छ ।

पहिरोले लामोसाँघु–जिरी सडकखण्डअन्तर्गतको हलहले र पुष्पलाल मार्गको भीरकोटमा अवरोध सिर्जना गरेको छ । पहिरोका कारण रामेछापबाट दोलखा र राजधानीका लागि छुटेका सवारीसाधन बाटोमा अलपत्र परेका छन् । दोलखाका प्रमुख जिल्ला अधिकारी श्रीकृष्ण श्रेष्ठले मौसममा सुधार नभएसम्म सडक मर्मतसम्भार गर्न नसकिने बताए ।

उनका अनुसार सडक मर्मतसम्भार गरेर पूर्णरुपमा यातायातका साधन सञ्चालन गर्न कम्तीमा एक साता लाग्नेछ । यसैगरी, हलहलेमा सञ्चालित ढुङ्गाखानीबाट खसेको पहिरोले लामोसाँघु–जिरी सडक पनि बन्द भएको छ ।

रसुवा– अविरल वर्षासँगै गएको पहिरोका कारण रसुवावासीको जीवन अस्तव्यस्त भएको छ ।

मूलखर्कको पहिरो पन्छाउन नसकिएपछि दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या भएको छभने यहाँका अधिकांश पसल त्यस्ता सामग्रीविहीन भएका छन् । पासाङ ल्हामु राजमार्गअन्तर्गत राम्चेगाउँमा पर्ने मूलखर्कको पहिरोले विगत १२ वर्षदेखि रसुवावासीलाई पिरोलेको भए तापनि सम्बन्धित निकायको संवेदनाहीनताका कारण समस्या चर्किएको होटल व्यवसायी नुर्पु तामाङले गुनासो गरे ।

पहिरो पन्छाउन नसक्दा भरिया लगाएर सामान ढुवानी गर्नु परेको र त्यसरी झिकाइएका सामानको मूल्य कम्तीमा १० रुपैयाँले बढ्ने गरेको उनले बताए । mechikali.com

अपहरणमुक्त गराउने युवाहरु सम्मानित

काभ्रे, १७ भदौ
मंगलबार बिहान अपहरणमा परेका बनेपाको ज्ञानकुञ्ज उच्च माविका छात्र रोमन बिष्टलाई सकुशल अपहरणमुक्त गराउने भक्तपुर, ताथली–४ गोठालेचौरका युवाहरुलाई विहिबार ज्ञानकुञ्ज स्कूलले विद्यालयमा सम्मान गरेको छ । विद्यालयको कक्षा ९ मा अध्ययनरत विष्टलाई स्कूल जाँदै गर्दा एक समूहले मङ्गलबार बिहान बनेपाको नयाँबस्तीबाट अपहरण गरेको थियो । विष्टलाई अपहरण गरी नालाबाट भक्तपुरतर्फ लैजाने क्रममा ताथलीका युवाहरुले गोठालेचौरबाट मुक्त गरेका थिए । विष्टलाई राजकुमार बस्नेत, ईश्वर थापा, शंकर बस्नेत, दिपक बस्नेत लगायतका स्थानीय युवाहरुले विष्टलाई अपहरणमुक्त बनाएका हुन् ।
विष्टको अपहरणमा संलग्न व्यक्तिहरुलाई समाउने र विष्टलाई सकुशलमुक्त गराउने युवाहरुलाई विहिबार टिका, दोसल्ला र खादाले पनि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आत्माराम थापा, सल्लाहाकार योगेन्द्रनाथ कर्माचार्य, सुरकृष्ण बैद्य र सानुभाई विष्टले सम्मान गरेका थिए । विष्टलाई ट्याक्सीमा हालेर अपहरण गरेको देखेर तत्कालै विद्यालयमा खबर गर्ने कक्षा ९ मा अध्ययनरत विद्यार्थी बिजेन्द्र केसीलाई समेत सम्मान गरिएको छ । विष्टलार्ई बा १ ज ५०७१ नम्बरको ट्याक्सीमा राखी अपहरण गरिएको थियो ।
अपहरणमा संलग्न रहेका मुख्य योजनाकार ओखलढुङ्गा तिलन्दु गाविस–९ स्थायी घर भएका वर्ष २७ का कुमार कार्की, मकवानपुर बज्रबाराही गाविस–७ का वर्ष २३ का ट्याक्सी चालक सुरेश बलामी, संखुवासभा खाँदबारी नपा–११ का वर्ष २५ का अनिष राई भनिने लोकेन्द्र राई र इलामको चुलाचुली गाविस–७ का वर्ष ३४ का राजु सुब्बालाई भक्तपुर प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय काभ्रेलाई बुझाएको छ । यसैगरी, अपहरणमा संलग्न मकवानपुर जिल्ला हेटौँडा नपा–४ का मनिष भनिने कृष्णबहादुर थिङलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले मंगलबार राती नै पक्राउ गरेको छ । पक्राउ सबै जनालाई मानव अपहरण तथा तथ शरीर बन्धकको कसूरमा मुद्दा चलाइएको काभ्रे प्रहरीले जानकारी दिएको छ । विष्टको अपहरणमा संलग्न रहेका रामेछापका ३५ वर्षिय आले तामाङ फरार रहेको र उनको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।
सम्मानपछि प्रतिक्रिया दिँदै ताथलीका युवा ईश्वर थापाले आफ्नो गाउँ, टोल, छरछिमेकमा आइपरेका घटनामा टुलुटुली हेरेर बस्न नहुने बताउँदै थापाले यस्ता घटना हुन नदिन सबै एकजुट हुनुपर्ने बताए ।  - mechikali.com

अस्पताल लैजाने पैसा नहुँदा सुत्केरीको मृत्यु

ध्रुव दंगाल, सिन्धुपाल्चोक, भदौ १६-
अस्पताल लैजाने पैसा नहुँदा पिछडिएको अल्पसंख्यक समुदायकी सुत्केरीको मृत्यु भएको छ। अत्यधिक रक्तस्रावले हिमाली गाविस सुनखानी-३, खानिगाउँकी २७ वर्षीय लबी थामीको मृत्यु भएको हो।

छिमेकीको सहायतामा उनले सोमबार बिहान ९ बजेतिर आफ्नै घरमा छोरा जन्माएकी थइन्। त्यसपछि अत्यधिक रक्तस्राव भएपछि उनी बेहोस भएर ढलेकी थिइन्। बेहोस अवस्थामै नौ घन्टामा उनको मृत्यु भयो।

छिमेकी देवीबहादुर बुढाथोकीका अनुसार रक्तस्राव भएपछि सुत्केरी गराउन बसेका सहयोगीले साल काटेर शिशु छुट्याएका थिए। चिकित्सकका अनुसार समयमै स्वास्थ्य संस्था पुर्‍याएको भए उनी बाँच्थिन्। नौ घन्टासम्म बेहोस भएकी उनलाई एक घन्टा लाग्ने देवीस्थानमा प्राथमिक स्वास्थ्य केन्द्र लगिएन। सहयोगीले स्वास्थ्य संस्था लैजान परिवारलाई अनुरोध गरेको थियो। उपचार गराउने पैसा नभएको र अघिल्ला दुई सन्तान पनि घरमै जन्मेकाले परिवारले उपचारमा लैजान आवश्यक ठानेन। गाउँको स्वास्थ्य चौकीबाहेक दुई-तीन घन्टाको दुरीमा खाडीचौर र बाह्रविसेमा सुरक्षित सुत्केरी सेवा दिने सामुदायिक र सरकारी अस्पताल थिए।

जिल्ला अस्पताल चौताराका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र पन्तले सालनाल नझरेकै कारण ज्यान गएको हुनसक्ने बताए। उनले भने, 'समयमै अस्पताल लगिएको भए उनलाई बचाउन सकिन्थ्यो।'

उनीहरूका ७ र ४ वर्षका दुई छोरा छन्। अति विपन्न थामी परिवारलाई खेतीले तीन महिनाबढी खान पुग्दैन। लबी र उनका पति चंखे थामीले मजदुरी गरेर जुटाउने कमाइ दैनिक गुजाराको स्रोत हो।

नजिकै स्वास्थ्य चौकी रहेपनि लबी गर्भावस्थामा एकपटम मात्र जचाउन गएकी थिइन। यो अवथामा तीन/चार पटक जचाएर नियमित आइरन चक्की खानुपर्छ। 'एक पटक उहाँ (लबी) आउँदा हातखुट्टा केही सुन्निएका जस्ता देखिन्थे', गाउँकी अनमी रेणुका न्यौपानेले भनिन्', 'नियमित जचाउन आउनु भनेको थिएँ मान्नु भएन।' उनले सुत्केरीको मृत्यु भएपछि मात्र आफूले जानकारी पाएको बताइन्।

जिल्ला स्वास्थ्य कार्यालयका मेडिकल अधिकृत कृष्णबहादुर मिजार 'इक्लामसिया' अवधिमा पनि सुत्केरीको ज्यान जाने खतरा उच्च रहेको बताउँछन्। सुत्केरीपछिको जटिल अवस्थालाई 'इक्लामसिया' भनिन्छ। 'यो बेला शरिर सुन्निने, सुगर र ब्लडप्रेसर उच्च हुने र कामने जस्ता समस्या देखापर्छन', उनले भने, 'तत्काल उपचार नुहँदा ज्यानै जान्छ।' यो समस्या सुत्केरीपछिको ७ दिनसम्म देखापर्न सक्ने उनले बताए।

डा. पन्तका अनुसार चेतना र अस्पतालमा सुत्केरी हुन रकम लाग्दैन भन्ने ज्ञान अभावले पनि सुत्केरी ज्यान गुमाउन बाध्य भएको बताए। 'जटिल अप्रेसन नै गर्नुपर्ने भयो भने पैसा लाग्न सक्छ नत्र सुत्केरी सेवा निशुल्क हुन्छ', उनले भने। उनका अनुसार स्वास्थ्य संस्थामा सुत्केरी गराएबापत सरकारले १ हजार ५ सय रुपैयाँ यातयात खर्चसमेत उपलब्ध गराउँदै आएको छ। - nagariknews

पत्रकार धम्कीप्रति उच्चायुक्त कार्यालयको चासो


सिन्धुपाल्चोक, भदौ १६ 
नेपाली कङ्ग्रेसका जिल्ला सभापति मोहनबहादुर बस्नेतले पत्रकारलाई 'ठेगान लगाइदिन्छु' भनी दिएको धम्कीप्रति नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार उच्चायुक्तको कार्यालयले चासो देखाएको छ। उक्त कार्यालयको एक टोलीले बुधबार पीडित पत्रकारसँग भेटेर घटनाबारे जानकारी लिएको हो।
नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको कार्यालयमा छलफल भएको थियो।

आइतबार सम्पन्न कङ्ग्रेस अधिवेशनमा आफूलाई सहयोग नगरेको भन्दै बस्नेतले पत्रकारहरुलाई धम्की दिएका थिए। चुनावपछि समाचारका लागि प्रतिक्रिया माग्न बस्नेतसँग सोमबार टेलिफोन गरेका नागरिक दैनिकका संवाददाता ध्रुव दङ्गालमार्फत् उनले धम्की दिएका दिएका हुन्। १५ मिनेटको टेलिफोन वार्तामा उनले कुरै नसुनी अश्लिल शब्दले गालीगलौज गरेर 'असहयोग गर्ने सबै पत्रकारलाई ठेगान लगाइदिने' बताएका थिए।

धम्कीको पत्रकार महासङ्घ जिल्ला शाखाले प्रेस विज्ञप्तिमार्फत् भर्त्सना गरेको छ। शाखा अध्यक्ष पवित्रकुमार खड्काद्वारा हस्ताक्षरित विज्ञप्तिमा गल्तीप्रति आत्माआलोचना गर्दै प्रेसको सम्मान गर्न आग्रह गरिएको छ। - nagariknews

अरनिको यातायातको ३९ औँ वार्षिक साधारण सभा सम्पन्न

भक्तपुर, १६ भदौ
अरनिको यातायात सेवा समितिको ३९ औँ वार्षिक साधारण सभाबाट अध्यक्ष पदमा केदार क्षेत्री निर्विरोध अध्यक्ष भएका छन् । त्यसैगरी समितिको उपाध्यक्षमा जितबहादुर भारती पनि निर्विरोध निर्वाचित भएका छन् । समितिको प्रथम उपाध्यक्षमा निर्वध्वज महत, द्धितिय उपाध्यक्षमा महेश्वरलाल श्रेष्ठ र तृतिय उपाध्यक्षमा केशवलाल प्रधान रहेका छन् । त्यसैगरी मंगलबार भएको निर्वाचनबाट सचिवमा श्याम लामा, सह–सचिवमा चित्र बहादुर कुँवर, कोषध्यक्षमा केशव भारती सह–कोषध्यक्षमा राजकुमार वस्नेत निर्वाचित भएका छन् ।

समितिको सदस्यहरुमा रामभक्त खड्का, प्रभुराम थापा, कृष्णभक्त तोयोना, हरिशरण पराजुली, मोहनप्रसाद घिमिरे, शिवप्रसाद पौडेल रहेका छन् । अरनिको यातायात सेवा समितिले काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुलीका विभिन्न गाविसहरुमा समेत यातायात सेवा संचालन गरेको छ । अरनिको यातायातमा ५ सय १२ वटा बस संचालनमा छन् । ति मध्ये २१ वटा नेपालथोक सिन्धुली, ३२ वटा काभ्रेको कोशीपारीमा संचालन भएका छन् । - nagarik news

गाउँलेको स्वागत सत्कारबाट विदेशी पाहुना खुशी

Wednesday, September 1, 2010

रामकृष्ण चापागाईं, १६ भदौ (काभ्रे)

पहिलो पटक नेपाल आएकी जापानीज विद्यार्थी तेराओ नानाको धेरै खुशी भइन् ।

स्थानीय गाउँलेहरूका साथै ग्रामीण क्षेत्रका विद्यार्थीहरूको न्यानो माया पाएपछि उनले भनिन्- "सहरका भन्दा गाउँका मानिस धेरै मायालु हुँदारहेछन् ।" मङ्गलबार गाउँमा भव्य स्वागत सत्कार पाएपछि दङ्ग परेका अर्का विद्यार्थी योसिताका इमोन प्रतिक्रिया दिँदै थिए- यहाँका मानिस धेरै मिजासिला रहेछन् ।" जापानमा वातावरणसम्बन्धी पनि अध्ययन गरिरहेका इमोनलाई यहाँको स्वच्छ वातावरणले अझ लोभ्याइरहेको थियो ।

पर्यटन वर्ष २०११ लाई लक्षित गरी पातलेखेतमा सन्चालन गरिएको होम स्टे कार्यक्रममा भाग लिन तेराओ र योसितासँगै मङ्गलबार आएका अन्य १६ जना जापानीज विद्यार्थीहरू गाउँमै उत्पादित तथा तयार पारेको ताजा खानेकुरा खाएर नेपाल भ्रमणको अझ आनन्द लिदै थिए । हाम्रो गाउँमा पर्यटकहरूलाई भित्राउन नगरकोटको भन्दा बढी सम्भावना छ होम स्टे कार्यक्रमका संयोजक केशव बडालले भने- "यहाबाट नजिकै ऐतिहासिक पलान्चोक भगवतीको मन्दिर छ साथै नमोवुद्ध जान पनि यहाबाट नजिक पर्छ ।" काभ्रे भन्जाङदेखि नै स्वागत सत्कार गरी ल्याइएका जापानीज विद्यार्थीहरू यहाँबाट देखिने ग्रामीण क्षेत्रका सुन्दर दृश्य आफ्नो क्यामरामा कैद गर्दै भन्दै थिए- "कति सुन्दर रहेछ नेपाल ।"

विदेशी पाहुना राख्न पातलेखेतको डाँडागाउँमा हाल १६ वटा घर तयार गरिएको छ । भइरहेको घरलाई सजाउन ५ हजार रुपैयाँसम्म लागेको उनीहरू बताउँछन् । ३ दिनसम्म बस्ने योजनामा जापानबाट आएका विद्यार्थीहरूलाई स्थानीय उत्पादन मात्रै खुवाइने छ । खानबस्ने गरी एकजनाको प्रतिदिन १ हजार रुपैयाँ खर्च लाग्नेछ कार्यक्रम संयोजक बडालले भने ।

यहाँ आउँदाको अनुभव सुनाउँदै एक जापानीज विद्यार्थी भन्दै थिए- "साच्चै नेपाल भ्रमणको अनुभव अविस्मरणीय हुने भो ।" "सहरको होटल रिसोर्टमा बसेर भन्दा गाउँमै बसेर नेपाल घुम्नुको मज्जा छुट्टै आउदो रहेछ-" ति विद्यार्थी भन्दै थिए । गाउँलेको न्यानो पायाँ पाएकी अर्की विद्यार्थी काओरी मात्वुई निकै रमाइरहेकी थिइन् ।

यो कार्यक्रम प्रभावकारी रुपमा सन्चानल गर्न सकिए धेरै पर्यटक भित्रयाउन सकिन्छ कार्यक्रम संयोजक बडालको भनाई थियो- "स्वच्छ वातावरणसँगै यहाबाट देखिने गाउँका सुन्दर दृश्यहरू पर्यटकलाई साच्चिकै लोभ्याउने छ । विदेशी पाहुनाहरूले नेपालीहरूको दैनिकी नजिकबाट हेर्न पाउने हुँदा पनि उनीहरूलाई नेपाल भ्रमणको स्मरण सधै भइरहने र अन्य पर्यटकहरूलाई समेत नेपाल आउन प्रोत्साहित गर्ने बडालको धारणा छ ।

पर्यटकलाई बाजागाजासहित गाउँलेहरुको भव्य स्वागत, खानामा स्थानीय उत्पादन, ग्रामीण घरमा बर्साई, स्वच्छ वातावरण, हिमाल पहाड तराई एकै ठाउँमा भएजस्तो भौगोलिक बनावट अनि थुप्रै पर्यटकीय गन्तव्य स्थल, सिङ्गो नेपालकै प्रतिनिधित्व गर्ने काभ्रेमा सुरु गरिएको होम स्टे कार्यक्रमले पर्यटन वर्ष २०११ सफल बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ स्थानीय पत्रकार ईश्वरी ओझाले भने ।

पहिरोले राजस्व नोक्सानी

चौतारा, १६ भदौ

सिन्धुपाल्चोकको बाह्रबीसे– तातोपानी सडकखण्ड पहिरोले गर्दा चार दिनदेखि अवरुद्ध भएपछि करिब रु तीन करोड राजस्व नोक्सानी भएको छ । अविरल वर्षाका कारण शनिबार राति गएको पहिरोले फुल्पिङकट्टी गाविसको डाक्लाङ भन्ने स्थानमा करिब दुईसय मिटर सडक बगाएपछि यातायात अवरुद्ध भएको छ । केही दिनदेखि नयाँ ट्रयाक खोल्ने कार्य भइरहेकाले सडक सञ्चालन हुन समय लाग्ने इलाका प्रहरी कार्यालय बाह्रबीसेका प्रहरी निरीक्षक हेरम्ब शर्माले जानकारी दिए ।

तर, बुधबारसम्म सडक सुचारु भएको छैन । सडक अवरुद्ध भएपछि सयौँको सङ्ख्यामा यातायात अड्केर बसेको र पैदलयात्रीलाई समेत कठिनाइ भइरहेको छ ।हरेक वर्षायाममा नयाँ ट्रयाक खोलिँदै आएको सो ठाउँ यातायातका लागि निकै जोखिमपूर्ण मानिन्छ । - मेचीकाली

हिमानीलाई माओवादी अवरोध

अध्यक्ष कै निर्देशन मानेनन् कार्यकर्ताले
दोलखा १५ भदौ
अध्यक्ष पुष्पकमल दाहालको निर्देशन अवज्ञा गर्दै दोलखा माओवादीले मंगलबार पूर्व युवराज्ञी हिमानीको कार्यक्रममा अवरोध पुर्‍याएको छ। माओवादी अध्यक्ष दाहाल र केन्द्रीय सदस्य अग्नि सापकोटाले हिमानीको कार्यक्रममा अवरोध नपुर्‍याउन जिल्ला नेतृत्वलाई निर्देशन दिए पनि माओवादीका कार्यकर्ताले मंगलबार उनको सवारीमा अवरोध पुर्‍याएका छन्।
खानेपानी आयोजनाका पाइप वितरण गर्ने कार्यक्रमका लागि नाम्दु हिँडेकी शाहको गाडी अगाडि बढ्न नदिन माओवादी समूह किरातीछापमा बसेर अवरोध गरेका थिए।  माओवादी कार्यकर्ताले तामाकोशीमा ट्रक तेर्साएर सडक अवरुद्ध पार्दै हिमानीको गाडी अघि बढ्नबाट रोकेका थिए। - एजेन्सी

powered by Blogger | WordPress by Newwpthemes | Converted by BloggerTheme