५० करोडका दशैं सामग्री पहिरोमै

Friday, September 10, 2010

सडक विभागसँग व्यापारी आक्रोशित-
ध्रुव दङ्गाल, (बाह्रबीसे) सिन्धुपाल्चोक, भदौ २५-
सैंका लागि अर्डर गरिएका करोडौं रुपैयाँका सामग्री पहिरोमा रोकिएपछि तातोपानी नाकाका व्यापारी सडक विभागसँग आक्रोशित भएका छन्। पहिरो पन्छाएर सडक सुचारु गर्न ध्यान नदिँदा घाटा सहनुपर्ने बाध्यता सिर्जना भएको उनीहरुको गुनासो छ।

'सडक विभाग कानमा तेल हालेर बसेको छ', सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले आक्रोश पोख्दै भने- दसैंको व्यापार चौपट हुन लाग्यो। स्थलमार्गबाट नेपाल–चीन व्यापार हुने एकमात्र राजमार्गमा विभागले चाहिने जति ध्यान नदिएको उनले बताए।

पहिरोले राजमार्ग विभिन्न स्थानमा अवरुद्ध हुँदा भन्सार चेकजाँच भइसकेका करिव ३ सय मालबाहक कन्टेनर रोकिएका छन्। श्रेष्ठका अनुसार तयारी पोशाक, जुत्ता, चप्पल, खेलौना, सजावटका सामानलगायत् झण्डै ५० करोड रुपैयाँ मूल्यका सामग्री बाटोमा रोकिएका छन्। अरु सयौं कन्टेनर सामग्री लोड गर्न खासा जान सकेका छैनन्।  बीच बाटोमा थुनिएर बसेका छन्।

'खासाका गोदाममा दसैंका लागि पर्याप्त सामग्री आइसके पनि समयमै राजधानी लैजान पाइएको छैन'- उनले भने।

राजमार्गको बन्देउ–तातोपानी सडक खण्डको झण्डै ५० स्थानमा साना–ठूला पहिरो गएका छन्। ठूला पहिरो मात्र १० को हाराहारीमा छ। 'पहिरो पन्छाउने नाममा झारा मात्र टारिएको छ। संवेदनशीलरुपमा लिइएको छैन', नेपाल ट्रक कन्टेनर व्यवसायी सङ्घका उपाध्यक्ष अर्जुन सापकोटाले भने। करिव ६० किलोमिटर दूरीको विभिन्न स्थानमा गएको पहिरो पन्छाउन बाह्रबीसेस्थित सडक कार्यालयमा एक मात्र डोजर तैनाथ छ, त्यो पनि टायरवाला।

एक ठाउँको पहिरो पन्छाइ नसक्दै अर्को स्थानमा पहिरो जान्छ। राजमार्ग नियमितजसो बन्द छ। व्यापारीको गुनासोपछि तीन दिनअघि चेनवाला डोजर ल्याइएको थियो। एक दिन काम नगर्दै डोजर बिग्रिएर डाक्लाङमा थन्किएको छ। 'सडक खुलाउन ध्यान नदिएको होइन', डिभिजन सडक कार्यालय दोलखाका प्रमुख इन्जिनियर उमेशविन्दु श्रेष्ठले भने- दैवी प्रकोपको अघि कसको के लाग्छ ?' एक जिल्लामा एउटाभन्दा बढी डोजर दिन नमिल्ने सरकारी नीति रहेको उल्लेख गर्दै उनले राजमार्गको अवस्था हेर्दा यतिबेला दुई चेन र एक टायरवाला गरी तीन डोजरको आवश्यकता रहेको बताए। 'टायरवाला डोजरले पहिरो पन्छाउन सम्भव नै छैन'-  उनले भने।

सडकको विषयमा ध्यानाकर्षण गराउँदै व्यापारीले रोकिएका सामग्रीको सुरक्षा दिन स्थानीय प्रशासनसँग माग गरेका छन्। 'यति महत्वपूर्ण नाकामा पर्याप्त स्रोतसाधन तयारी हालतमा हुनुपर्थ्यो, त्यो देखिएन', प्रमुख जिल्ला अधिकारी हरिकृष्ण उपाध्यायले भने- व्यापारीको गुनासोपछि समस्या सडक विभागमा राखिदिएको छु।

समयमै बजार पुर्‍याउन नसक्दा करिव ५० कन्टेनर स्याउ भित्रै कुहिन थालेका छन्। लोड गरेको केही दिनमै स्याउ बजार पुग्नुपर्ने व्यापारी बताउँछन्। चिनियाँ भू–भाग, लिपिङ, तातोपानी, डाकलाङ, बोर्डरल्याण्ड, सखुवालगायत ठाउँमा सामग्रीले भरियाका कन्टेनर रोकिएका छन्। सवारी आवागमन बन्द हुँदा यात्रु, पर्यटक हिँड्न बाध्य छन्।

सडक विभागका महानिर्देशक रामकुमार लम्सालले थप साधन पठाएर केही दिनमै राजमार्ग सञ्चालनमा ल्याइने दाबी गरे। उनले नागरिकसँग भने- व्यापारीले गुनासो गर्नु आफ्नो कुरा हो। स्रोत साधन उपलब्धताको स्थिति पनि हेर्नुपर्छ। राजमार्गमा बितेका १० भदौको तुलनामा यो भदौमा बढी पहिरो गएको उनले जानकारी दिए। nagariknews.com

पहिरोमा परीएर चारको मृत्यु

Wednesday, September 8, 2010

सिन्धुपाल्चोक २३ भदौ । 
सिन्धुपाल्चोक जिल्लाको मांखा गाविसमा पहिरोले एक घर वगाउदा सुतिरहेका एक परिवारका चार जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये दुई जनाको शव फेला परेको छ भने दुई जनाको शव फेला परेको छैन । सिन्धुपाल्चोक जिल्लाको मांखा गाविस वडा नम्वर १ लामपातेका स्थानिय रमेश कार्कीको घर बगाउदा घरमा सुतेकाहरुलाई पहिरोले बगाएको हो । रमेश कार्कीसहित आमा ५० वर्षीया पदमकुमारी माइलोबुबा ४० वर्षीय भक्तबहादुर र छोरा चार वर्षीय रन्जन पुरिएका थिए । छोरा रन्जन र आमा पद्यमकुमारीको शव भेटिएको छ । अन्य दुई जनाको शवि फेलापरेको छैन । प्रहरीले कमला र सरोज भने जिवितै उद्धार गरेको छ । माथिबाट आएको पहिरोले घर बगाएपछि सुतेका पुरीएका हुन् ।

अझै भेटिएनन् भोटेकोशीमा वेपत्ता

Tuesday, September 7, 2010

सिन्धुपाल्चोक, २२ भदौ

यात्रुबससहित भोटेकासी नदीमा डुबेर बेपत्ता भएकालाई दोस्रो दिन फेला पार्न सकिएको छैन। नदीमा हराएको २५ मध्ये २२ यात्रुको परिचय खुलेको छ। बेपत्ता भएको पुष्टिपछि खोजीका लागि आफन्तहरु प्रहरी समक्ष पुगेका छन्। कम्तिमा ३५ यात्रु बोकेर गाती बसेरीबाट बाह्रविसे आउँदै गरेको बा२ख ४०१३ नम्बरको बाह्रविसे यातायातको बस एक किलोमटिर नगुड्दै सोमबार भोटेकासी नदीमा खसेको थियो। चालकसहित चार यात्रु पौडेर बाँच्न सफल भएका थिए भने पाँचको शव भेटिएको थियो।
सोमबार रातपरेपछि स्थगित गरिएको खोजी कार्य मंगलबार बिहानैदेखि थालिएको थियो। घटनास्थलदेखि दोलालघाटसम्म करिव ५० किलोमिटरको दुरीमा टोली-टोली बनाएर खोजी गरिएको थियो। केही नभेटिएपछि खोजटोलीले साँझ स्थगन गरेर फर्किएको छ।
बस पनि भेटिएको छैन। सुरक्षाकर्मी, स्थानीयबासी र आफन्त गरी २ सय बढी खोजीमा जुटेका थिए। वर्षाका कारण नदीको सतह बढेकाले खोजीकार्यमा कठिनाइ उत्पन्न भएको इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरी निरीक्षक हेरम्ब शर्माले बताए।
इक्वेटर रिसोर्ट सुकुटेका पौडीवाज टोली सात र्‍याफ्टिङ बुथ लिएर दोलालघाट निस्केको थियो। अरनिको राजमार्गका सबै युनिटलाई युनिटलाई खोजीकार्यमा परिचालन गरिएको थियो। ५२ जनपद, १० सशस्त्र प्रहरी र ६७ जना नेपाली सेना खोजीमा परिचालन गरिएको प्रहरी निरीक्षक शर्माले बताए।
- nagariknews.com

घर भत्किएर बाबु–छोराको मृत्यु

काभ्रे, २२ भदौ
काभ्रेको ज्याम्दी गाउँ विकास समिति– ६ रामपुरमा घर भत्किएर बाबु छोराको मृत्यु भएको छ । अबिरल वर्षाका कारण ज्याम्दी– ६ रामपुरबासी काजी परियारको घर भत्कँदा ३५ वर्षिय काजी परियार र उनका ५ वर्षिय छोरा सुजन परियारको मृत्यु भएको स्थानीयबासी रामकुमार ठकुरीले जानकारी दिएका छन् । अबिरल वर्षाका कारण सोमबार राती १०:३० बजे घर भत्केको हो । घर भत्किएपछि मृतक काजीकी ३४ वर्षिया श्रीमती शान्ति परियार र १२ वर्षिय छोरा सुमन परियार घाईते भएका छन् ।
घाईते दुवैलाई उपचारका लागि काठमाडौँ पठाइएको ठकुरीले जानकारी दिएका छन् । उनीहरुको घरको जग नै भासिएको छ ।

भोटेकोशीमा बस खस्यो, १५ जना बेपत्ता

Sunday, September 5, 2010


सिन्धुपाल्चोक, २१ भदौ
सिन्धुपाल्चोकको गाती गाविसनजिकैको ढुंगाखानीबाट भोटेकोशीमा आज बिहान एक यात्रुवाहक बस खस्दा कम्तिमा १५ जना बेपत्ता भएका छन्। चालक, सहचालक र एक यात्रु नदीमा पौडेर बच्न सफल भएका छन्। बाँकी १५ जना बेपत्ता भएको प्रहरीले पुष्टि गरेको घटनास्थलमा रहेका नागरिकन्युजकर्मी ध्रुव दंगालले जनाएका छन्।

तातोपानीबाट बाह्रबिसे आउँदै गरेको ना २ ख ४०१३ नम्बरको यात्रु बस सिन्धुपाल्चोकको गाती गाविस ९ ढुंगाखानी भन्ने ठाउँबाट सय मिटर तल भोटेकोशीमा खसेको हो।



घटनास्थल काठमाडौँबाट १०५ किलोमिटरको दूरीमा पर्छ। अहिले घटनास्थलमा प्रहरी र स्थानीय बासिन्दाहरुले उद्धार गरिरहेका छन्।



यसअघि बसमा ३० यात्रु रहेको भनिए पनि बसमा चालकसहित १८ जना यात्रु रहेको र १५ जना बेपत्ता रहेको प्रहरीले पुष्टि गरेको छ। --- NAGARIKNEWS.COM

चोरीका मोबाइल सेट बरामद

Saturday, September 4, 2010


सिन्धुपाल्चोक, १८ भदौ

चोरीपैठारी गरी ल्याइएको मोवाइल सेट सिन्धुपाल्चोक जिल्लाको तातोपानी ३ बाट सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ । सशस्त्र प्रहरी बल राजस्व एवं भन्सार सुरक्षा वेस तातोपानीबाट गस्तीमा खटिएको एपीएफ टोलीले करीव ३० हजार रुपैयाँ बराबरको उक्त मोवाइल सेट हिजो वेलुका बरामद गरेको हो । बरामद मोवाइल सेट एपीएफ टोलीले हिजै आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल पाथिभरा गणबाट खटिएको एपीएफ टोलीले झापाको पाथिभरा चोकमा आज विहान सवारी साधनमा जाँचगर्ने क्रममा फेला पारेको चोरीपैठारीको करीव २६ हजार रुपैयाँ बराबरको लत्ताकपडा आवश्यक कारवाहीको लागि स्थानीय राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको छ । - mechikali.com

'माओवादी र पूर्वराजा दोषी'

Friday, September 3, 2010

काभ्रे, १६ भदौ

ऊर्जामन्त्री डा.प्रकाशशरण महतले एनेकपा माओवादी र राजाको हस्तक्षेपले देश जोखिममा परेको बताएका छन् । काभ्रे र भक्तपुरको सिमानामा पर्ने साँगामा साँगा खानेपानी आयोजनाको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

वेला-वेलामा भइरहने माओवादी र राजाको हस्तक्षेपका कारण हिंसाको माहोलमा देश गएको आरोप उनले लगाए । दलहरूबीचको खिचातानीका कारण नयाँ संविधान नबन्ने सम्भावना बढेको चर्चा गर्दै मन्त्री महतले भने, 'थपिएको समयभित्र पनि संविधान नबने संविधानसभाको औचित्यमाथि खतरा हुनेछ ।'

माओवादीप्रति लक्षित गर्दै उनले हिंसाको माहोलमा देश गएका कारण उद्योग-व्यवसाय फस्टाउन नसकेको र राजस्वमा कमी आएको पनि बताए । 'उद्योग- व्ययसाय गर्न नदिने, भएको उद्योगलाई पनि बन्द गराउनेे अनि बेरोजगार युवालाई सडकमा उतारेर रोजगारीको ग्यारेन्टी गर भनेर दबाब दिने, यो कसका लागि हो ?' महतले प्रश्न गरे ।

५७ लाखको लागतमा निर्माण सम्पन्न भएको उक्त खानेपानीबाट साँगाका १ हजार ६ सय बासिन्दा लाभान्वित हुनेछन् । साँगाकै वडा नं. ७ स्थित पेरुंगे वनबाट ल्याइएको पानीमार्फत १८ वटा सार्वजनिक र २ सय १० वटा निजी धारा विरतण गरिएको छ । प्रो नेपाल इटाली नामक संस्थाको ७० प्रतिशत आर्थिक सहयोग, जिल्ला विकास समिति काभ्रेको १ लाख ५० हजार र गाविसको करिब ५ लाखको लगानीमा सो आयोजना सम्पन्न गरिएको साँगा खानेपानी निर्माण संयोजक प्रकाशचन्द्र जोशीले जानकारी दिए ।
REF: NAYAPATRIKA

powered by Blogger | WordPress by Newwpthemes | Converted by BloggerTheme