बाह्रविसे-तातोपानी सडक खण्ड दुई दिनदेखि अबरुद्ध

Tuesday, August 31, 2010

सिन्धुपालल्चोक १५ भदौं ।
अरनिको राजमार्गमा पर्ने बाह्रविसे-तातोपानी सडक खण्ड दुई दिन देखि अबरुद्ध छ । सिन्धुपाल्चोक जिल्लाको फुल्पिङ्कट्टी गाविसमा पर्ने डाङलाङमा बाटो भासिए पछि सडक अबरुद्ध भएको हो । सडक अबरुद्ध भएपछि दैनिक लाखौ रुपैयाँ बरावरको राजस्व संकलन हुने तातोपानी भन्सारमा कामकाज ठप्प भएको छ । दुई दिन सम्म बाटो अबरुद्ध हुँदा समेत सम्बन्धित निकाए मौन रहेको स्थानीय बासिन्दाको गुनासो छ । सडक करीब पाँच सय मिटर भास्सिए पछि बाटोको ट्रयाक नै नयाँ बनाउनुपर्ने अवस्था सिर्जना भएको छ ।

नेका जिल्ला सभापतिद्वारा पत्रकारलाई धम्की

सिन्धुपाल्चोक ,  भदौ १५
सानुसिरुबारी गाविस-६ घर भई नेपाल पत्रकार महासंघ जिल्ला शाखाका सह-सचिव एवं नागरिक राष्ट्रिय दैनिकका जिल्ला संवाददाता धु्रव दंगाललाई ०६७ भदौ १४ गते नेपाली कांग्रेसका जिल्ला सभापति मोहनबहादुर बस्नेतले आफ्नो पक्षमा समाचार नलेखेको आरोपमा मार्ने धम्की दिएका छन् ।



पत्रकार दंगालका अनुसार बस्नेतले नामै किटेर गालीगलौज गर्दै ९८५१०२५९१७ नम्बरको मोवाइलबाट अश्लील शब्द प्रयोग गर्दै जिल्लाका पत्रकारहरूले आफ्नो पक्षमा समाचार नलेखेकोले सबैलाई केही दिनभित्रै ठीक पार्ने चेतावनी दिए । उनको भनाइ अनुसार- "कुनै हालतमा पनि मलाई असहयोग गर्नेलाई छाड्दिन" भनी सभापति मोहन बस्नेतले भनेका छन् ।'



घटनापछि नेपाल पत्रकार महासंघ जिल्ला शाखा, प्रेस चौतारी नेपाल सिन्धुपाल्चोक र नेपाल प्रेस युनियन जिल्ला शाखाले ०६७ भदौ १५ गते छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गरी घटनाको विरोध गरे । विज्ञप्तिमा नेपाली काँग्रेस जिल्ला सभापतिद्वारा जिल्लाका सबै पत्रकारहरू असुरक्षित भएको र कुनै पत्रकारमाथि केही भएमा त्यसको जिम्मेवार सभापति बस्नेत हुनुपर्ने भनिएको छ ।



त्यसैगरी नेका जिल्ला सभापति मोहनबहादुर बस्नेतले पत्रकारहरूलाई दिएको धम्की फिर्ता लिदै सार्वजनिक माफी नमागे उनी संलग्न कार्यक्रमहरू जिल्लाका सम्पूर्ण पत्रकारहरूले बहिस्कार गर्ने समेत प्रेस विज्ञप्तिमा उल्लेख छ । - onseconline.org

सिन्धु कङ्ग्रेसमा देउवा पक्षका बस्नेत

Monday, August 30, 2010

सिन्धुपाल्चोक, भदौ १३ - कङ्ग्रेस सिन्धुपाल्चोकको आइतबार भएको अधिवेशनबाट सभापतिमा मोहनबहादुर बस्नेत निर्वाचित भएका छन्। देउवा खेमाका निवर्तमान सभापति बस्नेतले कोइराला पक्षका सहसभापति भूपेन्द्रबहादुर थापालाई पराजित गरेका हुन।

देउवा खेमाको प्यानलै-

बस्नेतले ४ सय ४ मत पाए भने थापाको पक्षमा २ सय ८२ मत खस्यो। ७ सय ३४ प्रतिनधिमध्ये ७ सय ३ मत खसेको थियो। यसअघि असार २७ मा भएको निर्वाचनमा दुवैले ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुनः निर्वाचन भएको हो।

अघिल्लो निर्वाचनमै सचिव कृष्ण न्यौपाने र कोषाध्यक्षमा देवेन्द्र खत्री निर्वाचित भइसकेका छन्। देउवा खेमाको प्यानलै विजयी भएको हो।  - नागरिक

शान्ति समितिमा दलका कार्यकर्ता

काभ्रे, १४ भदौ
शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्र्तगत बन्ने जिल्ला शान्ति समिति काभे्रमा एकीकृत माओवादी, नेपाली काँग्रेस र एमालेका कार्यकर्ताबीचमा भागबन्डा भएको छ । समिति निमार्णका लागि दलबाहेक नागरिक समाजका प्रतिनिधि भनी आइतबार जिल्ला विकास समितिको  सभाकक्षमा डाकिएको बैठकमा माओवादी, कांग्रेस र एमालेका कार्यकर्ता बाहेक कोही थिएनन् । ठूला तीन दलको निर्णयमा शान्ति प्रर्वद्धनमा योगदान पु¥याएका नागरिक समाज भनी डाकिएकामा तीनै दलका कार्यकर्ता मात्र उपस्थित थिए । तीन दलको निर्णयअनुसार समितिमा राखिनेको नाम सहायक प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले पढेर सुनाएका थिए ।
जसमा नेपाल पत्रकार महासंघको प्रतिनिधिको चयन नेपाली कांग्रेसले गरेको थियो । उद्योग वाणिज्य संघको प्रतिनिधि नेकपा एमाले र मानवअधिकारको प्रतिनिधि एकिकृत नेकपा माओवादीले गरेको थियो । नेपाल पत्रकार महासंघ पेशागत संस्था भएपनि महासंघका अध्यक्षलाई अविश्वास गर्दै कांग्रेस नजिकका व्यक्ति दिनेश लामा, एमालेका तर्फबाट काभ्रे उद्योग वाणिज्य महासंघका तीन कार्यकाल अघिका अध्यक्ष मणिराज कायस्थ र एकीकृत माओवादीका पूर्व जिल्ला सेक्रेटरी रुकु चौलागाईलाई मानवअधिकारको प्रतिनिधिका रुपमा घोषणा गरिएको छ । नेपाल बार एशोसियसनका प्रतिनिधिका रुपमा हालका कार्यसमिति पदाधिकारी नभएर धेरै अगाडीकी जीवना बादेलाई कांगे्रसको सिफारिसमा घोषणा गरिएको छ । 
समितिमा दलको प्रतिनिधि १२ जना र नागरिक समाजका ११ जना गरी २३ जना सदस्य रहने प्रावधान रहेकाले नागरिक समाजका प्रतिनिधि पनि दलले भागभन्डामा परेका हुन् । जनआन्दोलनताका महत्वपूर्ण योगदान पु¥याएका पत्रकार महासंघ, बार एशोसियसन, गैसस महासंघ र मानवअधिकारकर्मी कसैलाई  पनि समितिमा राखिएन । प्रमुख जिल्ला अधिकारी सुधिरकुमार शाहले शान्ति समिति निर्माण भएको घोषणा गर्दा ४० जना पार्टी कार्यकर्ताको मात्र उपस्थिती भएपनि माओवादीका चार जनाले मात्र घोषणाको समर्थन गर्दै ताली बजाएका थिए । समितिमा प्रावधान अनुसार बेपत्ता, मानवअधिकार, भौगोलिक र आदिबासीका तर्फबाट प्रतिनिधित्व गराइएको छैन । सो कार्यक्रममा साना दलले समितिमा प्रतिनिधित्व नगर्ने सार्वजनिक घोषणा गरेर हिडेका थिए भने नागरिक समाज र पत्रकारले अस्वीकार गरी ‘अशान्ती समिति’ भनेका छन् । ‘समिति अस्वीकार्य छ, दलीय बैठकमा पनि जान्नौँ’ नेकपा मालेका रणबहादुर बोहोराले भने । दलका प्रतिनिधि बाहेक नागरिक समाजबाट प्रतिनिधित्व गर्नुपर्नेमा शान्ति प्रर्वद्धनमा योगदान पु¥याएका भन्दै एमालेकी शान्ता न्यौपाने तथा माओवादीकी रुकु चौलागाई परेकी छिन् । 
तीन दलको निर्णयअनुसार शान्ति समिति गठन घोषणा गरिएको सहायक प्रजिअ गेलालले बताए । उनले भने ‘तीन दलले विभिन्न क्षेत्र मिलाएर आयौँ भनेपछि समिति घोषणा गरेका हौँ ।’ दलका खिचातानीका कारण काभे्रका अहिलेसम्म समिति नबनेको हो । हालसम्म ६८ जिल्लामा शान्ति समिति गठन भएको छ ।
दलकै भागबण्डामा द्वन्द्वपीडितबाट आश्विन चौलागाई, सरिता लामा, रञ्जिता लामा र रामचन्द्र सापकोटा, उद्योग बाणिज्य संघबाट मणिराज कायस्थ, जनजातिबाट इन्द्रबहादुर तामाङ र दलितका तर्फबाट लेखराज गजमेर रहेका समितिमा छन् । प्रशासनले शान्ति समिति नभई ‘द्वन्द्वपीडित समिति’ बनाएको मानवअधिकारकर्मी भोजराज तिमल्सिनाले प्रतिक्रिया दिए । ‘यो कार्यकर्ता भर्ती समिति स्वीकार्य छैन, उनले समिति घोषणा कार्यक्रममा भने ।
नाम             प्रतिनिधित्व गर्ने संस्था         कोटामा पार्ने पार्टी
दिनेश लामा           नेपाल पत्रकार महासंघ        नेपाली काँग्रेस
जीवना बादे            महिला शक्ति                    नेपाली काँग्रेस
आश्विन चौंलागाईं     नेपाल शिक्षक संघ             नेपाली काँग्रेस
शान्ता न्यौपाने        वन उपभोक्ता महासंघ         नेकपा एमाले
मणिराज कायस्थ     उद्योग वाणिज्य महासंघ      नेकपा एमाले
इन्द्रबहादुर तामाङ    जनजाति                        नेकपा एमाले
रामचन्द्र सापकोटा    द्वन्द्व पीडित                     नेकपा एमाले
रुकु चौंलागाईं          मानव अधिकारकर्मी           एनेकपा माओवादी
सरिता लामा           जेल परेको द्वन्द्व पीडित        एनेकपा माओवादी
रन्जिता लामा         राज्य पीडित                     एनेकपा माओवादी
लेखराज गजमेर       दलित                            एनेकपा माओवादी - mechikali

दोलखा पुगिन् हिमानी

दोलखा, १४ भदौ
पूर्वयुवराज्ञी हिमानी शाह औपचारिक कार्यक्रममा सहभागी हुन सोमबार साँझ दोलखा आएकी छन् । बालबालिकालाई सहयोग गर्न र खानेपानीको आयोजनाको सामाग्री वितरण गर्न दोलखा आएकी उनी चरिकोटस्थित पानोरोमा होटलमा विश्राम गरी मंगलबार विहानैदेखि कार्यक्रममा सहभागी हुने छिन् । मंगलबार विहान दोलखाबजारस्थित त्रिपुरासुन्दरीको दर्शनपछि त्यही रहेको बालमन्दिर र चरिकोटमा रहेको गौरीशंकर बालगृह भ्रमण गरी वालवालिकालाई भेट्ने कार्यक्रम छ ।
उनी मंगलबार नै चरिकोटबाटा झन्डै २४ किलोमिटर टाढा नाम्दु गाविसस्थित खानेपानी आयोजनाको सामान हस्तान्तरण गर्ने कार्यक्रममा सहभागी हुने आयोजक राष्ट्रिय सरोकार मन्च दोलखाले जनाएको छ ।

उनलाई स्वागत गर्न चरिघ्याङस्थित होटल जाने बाटोमा केही व्यक्ति भेला भएका थिए । काठमाडौंबाट उनका साथमा केही पत्रकार र सादा पोषाकका सुरक्षाकर्मीहरु थिए । - mechikali

खेताला' शिक्षक काममा फर्केनन्

ध्रुव दंगाल, सिन्धुपाल्चोक, भदौ १३ -
'खेताला' पठाएर निजी काममा लागेका शिक्षकलाई विद्यालय फर्काउन सम्बन्धित निकाय जिल्ला शिक्षा कार्यालयले अझै पहल थालेको छैन। राजनीतिक दलको संरक्षणले विद्यालय फर्काउन पहल गर्न नसकेको शिक्षा कार्यालय स्रोतले जनाएको छ।

शिक्षा कार्यालयले 'खेताला' राखेर शिक्षक निजी काममा लाग्ने प्रवृत्ति बढ्दै गएको स्वीकारे पनि त्यहाँ त्यस्ता शिक्षकको तथ्यांक छैन। शिक्षकका पेशागत संगठनका अनुसार यहाँका २५ भन्दा बढी शिक्षक विद्यालयमा 'खेताला' राखेर व्यक्तिगत काममा छन्। त्यस्ता शिक्षकमध्ये अधिकांश दलसम्बद्ध शिक्षक संघ-संगठनका जिल्ला र केन्द्रीय नेतृत्वमा पुगेका छन्। कतिपय पूर्णकालीन सदस्य बनेर पार्टीको विभिन्न तहको जिम्मेवारीमा छन्। केही भने ठेक्कापट्टा र व्यापार व्यवसायमा लागेका छन्।

'राजनीतिक पहुँचमा पुगेका शिक्षकलाई कसरी पढाउन जाऊ भन्न सकिन्छ,' एक अधिकारीले भने, 'उनीहरू हामीलाई नै सरुवा गर्ने हैसियत राख्छन्।' निश्चित रकम दिने सर्तमा छोराछोरी या नजिकका आफन्त सट्टामा पठाएर उनीहरू विद्यालय नगएको वर्षौं बिते पनि तलबभत्तालगायत सुविधा भने पाउँदै आएका छन्। सरुवा-बढुवा, तालिमलगायत सुविधाको हकदार पनि उनीहरू बन्ने गरेको अन्य शिक्षकको गुनासो छ।

नेपाल शिक्षक युनियनका जिल्ला अध्यक्ष पदम पराजुली 'खेताला' राखेर शिक्षक काममा नजाँदा शिक्षा क्षेत्रमा विकृति ल्याउने भएकाले 'एक्सन'मा जानुपर्ने बताउँछन्। 'राजनीतिक आड र संरक्षणमा यो सबै भइरहेको छ,' उनले आपत्ति जनाउँदै भने, 'तिनीहरूलाई काममा फर्काउनु पर्छ।' विगतमा त्यस्ता शिक्षकलाई फर्काउन पटक-पटक पहल गरे पनि राजनीतिक दबाबले असफल भएको उनले बताए। पराजुलीले भने, ' शिक्षा कार्यालय एक्सनमा गए युनियन सघाउन तयार छ।'

शिक्षा कार्यालयले गत वर्ष उनीहरूलाई विद्यालय फर्काउने अभियान चलाए पनि राजनीतिक दबाबले बीचमै रोकिएको थियो। यसले उनीहरूको मनोबल अझै उच्च बनेको छ। तीन महिना चलेको अभियानबाट काममा नफर्केका आठ शिक्षकले राजीनामा दिएका थिए।

शिक्षा कार्यालयका सहसचिव बद्री पौडेलले विद्यालय फर्काउने प्रयास गरे पनि सफल नभएको बताए। उनले भने, 'राजनीतिक संरक्षणले समस्या बढेको हो।' प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिको मिलेमतो र समुदायको वेवास्ताले खेताला पठाउने प्रवृत्ति बढेको उनले बताए।  - nagarki news

powered by Blogger | WordPress by Newwpthemes | Converted by BloggerTheme