खेताला' शिक्षक काममा फर्केनन्

Monday, August 30, 2010

ध्रुव दंगाल, सिन्धुपाल्चोक, भदौ १३ -
'खेताला' पठाएर निजी काममा लागेका शिक्षकलाई विद्यालय फर्काउन सम्बन्धित निकाय जिल्ला शिक्षा कार्यालयले अझै पहल थालेको छैन। राजनीतिक दलको संरक्षणले विद्यालय फर्काउन पहल गर्न नसकेको शिक्षा कार्यालय स्रोतले जनाएको छ।

शिक्षा कार्यालयले 'खेताला' राखेर शिक्षक निजी काममा लाग्ने प्रवृत्ति बढ्दै गएको स्वीकारे पनि त्यहाँ त्यस्ता शिक्षकको तथ्यांक छैन। शिक्षकका पेशागत संगठनका अनुसार यहाँका २५ भन्दा बढी शिक्षक विद्यालयमा 'खेताला' राखेर व्यक्तिगत काममा छन्। त्यस्ता शिक्षकमध्ये अधिकांश दलसम्बद्ध शिक्षक संघ-संगठनका जिल्ला र केन्द्रीय नेतृत्वमा पुगेका छन्। कतिपय पूर्णकालीन सदस्य बनेर पार्टीको विभिन्न तहको जिम्मेवारीमा छन्। केही भने ठेक्कापट्टा र व्यापार व्यवसायमा लागेका छन्।

'राजनीतिक पहुँचमा पुगेका शिक्षकलाई कसरी पढाउन जाऊ भन्न सकिन्छ,' एक अधिकारीले भने, 'उनीहरू हामीलाई नै सरुवा गर्ने हैसियत राख्छन्।' निश्चित रकम दिने सर्तमा छोराछोरी या नजिकका आफन्त सट्टामा पठाएर उनीहरू विद्यालय नगएको वर्षौं बिते पनि तलबभत्तालगायत सुविधा भने पाउँदै आएका छन्। सरुवा-बढुवा, तालिमलगायत सुविधाको हकदार पनि उनीहरू बन्ने गरेको अन्य शिक्षकको गुनासो छ।

नेपाल शिक्षक युनियनका जिल्ला अध्यक्ष पदम पराजुली 'खेताला' राखेर शिक्षक काममा नजाँदा शिक्षा क्षेत्रमा विकृति ल्याउने भएकाले 'एक्सन'मा जानुपर्ने बताउँछन्। 'राजनीतिक आड र संरक्षणमा यो सबै भइरहेको छ,' उनले आपत्ति जनाउँदै भने, 'तिनीहरूलाई काममा फर्काउनु पर्छ।' विगतमा त्यस्ता शिक्षकलाई फर्काउन पटक-पटक पहल गरे पनि राजनीतिक दबाबले असफल भएको उनले बताए। पराजुलीले भने, ' शिक्षा कार्यालय एक्सनमा गए युनियन सघाउन तयार छ।'

शिक्षा कार्यालयले गत वर्ष उनीहरूलाई विद्यालय फर्काउने अभियान चलाए पनि राजनीतिक दबाबले बीचमै रोकिएको थियो। यसले उनीहरूको मनोबल अझै उच्च बनेको छ। तीन महिना चलेको अभियानबाट काममा नफर्केका आठ शिक्षकले राजीनामा दिएका थिए।

शिक्षा कार्यालयका सहसचिव बद्री पौडेलले विद्यालय फर्काउने प्रयास गरे पनि सफल नभएको बताए। उनले भने, 'राजनीतिक संरक्षणले समस्या बढेको हो।' प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समितिको मिलेमतो र समुदायको वेवास्ताले खेताला पठाउने प्रवृत्ति बढेको उनले बताए।  - nagarki news

0 comments:

Post a Comment

powered by Blogger | WordPress by Newwpthemes | Converted by BloggerTheme